हेटौंडाः नेपाल इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रथम संस्करणको टि–१० क्रिकेट प्रतियोगितामा नेपाल स्टार क्लबले सुखद सुरुवात गरेको छ । नेपाल स्टार क्लबले बिल्टफोर्टलाई ८२ रनले पराजित गरेको छ । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको नेपाल स्टार क्लबले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा १ सय २६ रन जोडेको थियो । विवेक सहनीले सर्वाधिक ५५ रन जोडेका थिए । गौरव खड्काले २७ रन र अर्जुन ठाकुरले १८ रन बनाएका थिए ।

टिम बिल्टर्फोर्टका नरेश साह र अस्लम आलमले समान २/२ विकेट लिएका थिए । १ सय २७ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टिम बिल्टफोर्टले निर्धारित १० ओभरमा ९ विकेटको गुमाएर ४४ रन मात्र जोड्न सफल भएको थियो । सरफराज अन्सारीले १२ रन बनाएका थिए नेपाल स्टारका युवराज साहले सर्वाधिक ३ विकेट लिएका थिए । विकास दास र मुकेश यादवले समान २÷२ विकेट लिएका थिए । म्यान अफ द म्याच विवेक सहनी घोषित भएका छन् ।

यस्तै, बिहिबार भएकै दोस्रो खेलमा हेटौंडा–५ स्थित जीएस निकेतन विजयी भएको छ । रोयल टाइगरलाई ८ विकेटले हराउँदै जीएस निकेतनको टिम विजयी भएको हो । टस जितेर पहिले व्याटिङ गरेको रोयल टाइगरले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ६७ रन बनाएको थियो । पर्वत सेञ्चुरीले सर्वाधिक २९ रन बनाएका थिए । सुजित खनालले १६ रन बनाएका थिए ।

जीएस निकेतनका मनिस, अनमोल थापा र अभिषेक श्रेष्ठले समान एक/एक विकेट लिएका थिए । ६७ रनको लक्ष्य पछ्याएको जीएस निकेतनले ८ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । जीएसका आस्तिक दहालले सर्वाधिक २७ रन बनाएका थिए । सक्षम वास्तकोटीले १८ रन र मनिष सुवेदीले १६ रन बनाएका थिए । रोयल टाइगरका श्रवण गौतम र सोना राइले समान १÷१ विकेट लिएका थिए । म्यान अफ द म्याच सृजन अधिकारी घोषित भएका छन् ।

यस्तै, तेस्रो खेलमा पठान इलेभनको क्रिकेट टिमले जीत निकालेको छ । मकवानपुरगढी गाउँपालिकाको मकवानपुरगढी क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै पठान इलेभनले जीत निकालेको छ । टस जितेर पहिलो व्याटिङ गरेको मकवानपुरगढीले निर्धारित १० ओभरमा सब विकेटको क्षतिमा ३४ रन मात्र जोडेको थियो । पठान इलेभनको तर्फबाट शुभम् गुप्ता र राहुल यादवले समान ३÷३ विकेल लिएका थिए । सलमान एमडीले २ विकेट लिएका थिए । ३४ रनको लक्ष्य पछ्याएको पठानले १ ओभरमा २ विकेट गुमाउँदै ३६ रन बनाएको थियो । राहुल यादवले १७ रन र फरुक खानले १३ रन बनाएका थियो । मकवानपुरगढीका प्रकाश मुक्तानले १ विकेट लिएका हुन् । म्यान अफ द म्याच राहुल यादव घोषित भएका छन् ।

यस्तै, चौथो तथा अन्तिम खेलमा पठान स्ट्राइकरको टिम विजयी भएको छ । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई ४३ रनले पठान स्ट्राइकरले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको पठान स्ट्राइकरले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । पठान स्ट्राइकरका विके सहनीले सर्वाधिक ६६ रन बनाएका थिए । धिरज पटेलले १४ रन र जिशान अन्सारीले १३ रन बनाएका थिए । आधुनिक माविका रोहित ठाकुरले २ विकेट लिएका थिए । १ सय ९ रनको लक्ष्य पछ्याएको आधुनिक माविले ५ ओभरमा ६५ रन बनाउँदै अल आउट हुन पुगेको थियो । आधुनिकका रोहित ठाकुरले २१ बनाएका थिए । यता पठानका राजिव यादवले २ विकेट लिएका थिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघको सहयोग रहेको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला इन्चार्ज मोहमद सफिकाको सभाध्यक्षमा तथा श्रम रोजगार तथा यातायतात मन्त्री प्रेमभक्त महजर्नको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको हो ।