सोमबार मन्त्रीपरिषद् बैठकमा सहभागी मन्त्रीहरु ।

हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्मा ४ जना सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ महिलासहित ४ जनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा मकवानपुरका संगीत श्रेष्ठ, ललितपुरका रवी महर्जन, चितवनकी नविना खनिया र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ । एक सदस्यको कार्यअवधि बाँकी रहेकाले हाललाई ४ जनालाई मात्र नियुक्त गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कानुनी अड्चनको समाधानका लागि सदस्यहरुको नियुक्तिका लागि सामाजिक विकास मन्त्रालयको सिफारिस तथा युवा तथा खेलकुद मन्त्रालयको सहमति लिइएको छ । बैठकले प्रदेश सुशासन केन्द्रको वार्षिक प्रतिवेदनलाई प्रदेशसभामा पेश गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो ।