हेटौंडाः हेटौंडा–२ स्थित जलेश्वर महादेव मन्दिर परिसरमा स्थापना गरिएको भैरवको मूर्तिमा पूजाआरती गर्दै हेटौंडामा भैरव जयन्ती मनाइएको छ । करिव ६ महिनाअघि हेटौंडा–२ का रामचन्द्र फुर्सती परिवारले स्थापना गरेको भैरवको मूर्तिमा पूजाआजा, आरती गर्दै भैरव जयन्ती मनाइएको हो ।
मार्गकृष्ण अष्टमी साँझ भैरव उत्पत्ति भएको दिन मानिन्छ । यही दिनलाई आधार मानेर फुर्सती परिवारले भैरव स्तोत्रपाठ, आरती गरेको हो । भैरव जयन्तीको अवसरमा जलेश्वर महादेव मन्दिरमा सहभागी भक्तजनलाई टीका, प्रसाद वितरण गरिएको थियो । भैरव शिव भगवानको अवतार मानिन्छ । भैरवको बाहन कुकुर हो र हरेक वर्षको यमपञ्चकमा कुकुरको पूजाआजा गरिन्छ । कठोर भन्दा कठोर संकटबाट मुक्ति पाउन भैरवको आराधना गर्दा राहत मिल्ने किम्बदन्ती छ । भैरवलाई मासको बारा, जेरी, पञ्चामृत विशेष अर्पण गरिन्छ ।