नामटार (कैलाश)ः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले सरकारको लगानीलाई उत्पादनमा जोडेर अघि बढ्नु पर्ने बताउनुभएको छ । उहाँले कृृषि, पर्यटन तथा अन्य क्षेत्रमा गरिएको लगानीलाई उत्पादन केन्द्रित गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
मकवानपुरको कैलाश गाउँपालिका–९, नामटरमा रहेको स्यार्से कालिका मन्दिरको एक कार्यक्रमका बीच उद्घाटन गर्नुहुँदै सभापति बानियाँले प्रदेशमा प्रचुर मात्रामा धार्मिक पर्यटनको सम्भावना रहेकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सेवा प्रवाहलाई गुणस्तरीय बनाउने र नागरिकको आयआर्जन वृद्धिका लागि कृषि, पर्यटन तथा औद्योगिक उत्पादनमा सरकारले जोड दिनुपर्ने उहाँले बताउनुभयो । “धार्मिक महत्वका क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नुपर्छ । पर्या–पर्यटन, कृषि उद्यमलाई प्रोत्साहन हुने गरी भौतिक पूर्वाधार विकासका कामहरु अघि बढाउनु अपरिहार्य रहेको छ”, बानियाँले भन्नुभयो ।
जिल्लाको विकट क्षेत्रको रुपमा रहेको कैलाशको विकासका लागि आफूले पहल गर्ने उहाँको भनाइ थियो । प्रदेश सरकारसँग पहल गरेर सडक पूर्वाधार निर्माण, पर्यटन तथा आर्थिक उपार्जनका लागि आवश्यक योजनाहरु संचालनका लागि बजेट व्यवस्था गरिने उहाँले बताउनुभयो । कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तानले नामटार क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रुपम विकास गर्नेगरी आवश्यक पूर्वाधार निर्माणका लागि योजना बनाइरहेको बताउनुभयो । उहाँले नामटार क्षेत्रको विकासका लागि स्थानीयको समेत सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नामटार कैलाश गाउँपालिकाकै आर्थिक क्षेत्रको रुपमा विकास गर्न सकिने भएकाले पालिकाले समेत प्राथमिकतामा राखेको दावी गर्नुभयो ।
२०५० सालको बाढीले मन्दिर भत्किएको र कालिकाको मूर्ति पुरिएको थियो । सोहि स्थानमा नयाँ मन्दिर निर्माण गरिएको गाउँपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिं घलानले जानकारी दिनुभयो । २५ लाख रुपैयाँ लागतमा निर्माण भएको मन्दिरका लागि गाउँपालिकाले १० लाख र प्रदेश सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । यस्तै मन्दिर संरक्षणका लागि प्रदेश सरकारले १० लाख र विभिन्न व्यक्ति र संस्थाबाट ५ लाख रुपैयाँ प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष घलानका अनुसार मन्दिर संरक्षण योजना अन्तर्गत खोला नियन्त्रण, चौर सम्याउने, पर्यटकीय तीर्थस्थलको रुपमा विकास गर्न अझै करिब १० करोड रुपैयाँ खर्चको अनुमान गरिएको छ । चालू आर्थिक बर्षमा प्रदेश सरकारबाट १४ लाख रूपैयाँ मन्दिर संरक्षणका लागि बजेट विनियोजन भएको पनि वडा अध्यक्ष घलानले बताउनुभयो । मन्दिरमा गरिएको भाकल पूरा हुने विश्वासका साथ मकवानपुरका विभिन्न पालिकासहित छिमेकी जिल्ला र भारतका सिमावती सहरबाट समेत भक्तजन आउने गरेको वडा अध्यक्ष घलानको भनाइ छ । मन्दिरमा चण्डीपूर्णिमा र धान्यपूर्णिमामा विशेष पुजाआजा हुँदै आएको छ । परापूर्वकालमा यस स्थानमा १००८ ऋषिमुनीले तपस्या गरेको जनश्रुति समेत रहेको उहाँको भनाई छ ।