हेटौँडाः हेटौंडामा जारी नागस्वती भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा प्रि–क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो । शनिबार भएको खेलमा जीत निकाल्दै पोखरा उपमहानगरपालिकाको लेक साइड भेट्रान्स क्लब, हेटौंडाको पशुपति भेट्रान्स क्लब, काठमाडौं महानगरपालिकाको जोरपाटी भेट्रान्स र आयोजक नागस्वती भेट्रान्सले क्वार्टरफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ ।
वीरगञ्ज उपमहानगरपालिकालाई २–१ गोलले पहिलो खेलमा लेक साइड भेट्रान्सले पराजित गरेको छ । लेक साइड भेट्रान्सको जीतमा कन्या सुब्बा गुरुङले र राजु हमालले समान एक–एक गोल गरेका हुन् । यता वीरगञ्जको कृष्ण शाक्यले मात्र एक गोल फर्काउन सफल भए । म्यान अफ द म्याच कन्या सुब्बा गुरुङ घोषित भए । यस्तै हेटौंडाकै पशुपती भेट्रान्स क्लबले वीरगञ्ज युनिटी भेट्रान्सलाई टाइब्रेकरमा २–१ गोलअन्तरले हराएको छ । निर्धारित समया एक–एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । वीरगञ्जका सन्जय मण्डल र पशुपतिका मदन श्रेष्ठले समान एक÷एक गोल गरेका थिए । म्यान अफ द म्याच गोल रक्षक नरराज श्रेष्ठ घोषित भएका छन् ।
यस्तै तेस्रो खेलमा पनि काठमाडौं उपमहानगरपालिकाको जोरपाटी भेट्रान्सले वीरगञ्ज सिटी भेट्रान्सलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराएको छ । खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । यस्तै अन्तिम खेलमा आयोजक नागस्वती भेट्रान्स ‘बी’ ले अभिषेक चर्च भेट्रान्सलाई ४–० पराजित गरेको छ । आयोजकको जीतमा निलेन्द्र देवानले ह्याट्रिक गरेका थिए भने निमा लामाले एक गोल गर्दै ४ गोल पूरा गरेका हुन् । म्यान अफ द म्याच ३ गोलकर्ता देउवा घोषित भएका थिए । प्रतियोगितामा १५ वटा टिमहरुको सहभागिता रहेको थियो ।