हेटौँडाः बागमती प्रदेशका कृषकहरु अहिले धान भित्र्याउने चटारोमा छन् । कात्तिक पहिलो सातादेखि नै प्रदेशका केही जिल्लामा धान काट्ने क्रम सुरु भएपनि चाडपर्व सकिएसँगै किसानहरुलाई अहिले प्रमुख बालीको रुपमा बर्षे बाली धान भित्र्याउन भ्याई–नभ्याई छ ।
तिहार सकिए लगत्तै ठिक्क काट्ने बेला भएको धान कतै काटेर सकिएको छ भने कतै अझै काट्ने काम चलिरहेको छ । विशेषगरी बागमतीको चितवन, मकवानपुुर लगायतका जिल्लामा बढी मात्रामा धान खेती गरिन्छ । तुलनात्मक रुपमा प्रदेशमा धान उत्पादनमा केही वृद्धि भएपनि समग्र उत्पादनमा भने गिरावट आउने अनुमान गरिएको छ । विपद्का कारण यस बर्ष बागमतीमा उत्पादन घट्ने भएको अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रहेको छ ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सुजन कँडेलले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरेको भएपनि बाढी पहिरोले गर्दा उत्पादन घट्न सक्ने बताउनुभयो । बाढी पहिरोले प्रदेशका विभिन्न जिल्लामा लगाइएको धान खेतीमा ठूलो क्षति पु¥याएको उहाँको भनाई छ । “बागमती प्रदेशका १३ जिल्लाको एक लाख ११ हजार ३५१ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बाढी, पहिरोका कारण ५ हजार ५०३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । जसले गर्दा उत्पादन घट्ने अनुमान गरिएको छ”, प्रवक्ता कँडेलले भन्नुभयो ।
प्रवक्ता कँडेलले प्रदेशको मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली, धादिङ लगायतका जिल्लाहरुमा बाढी, पहिरोले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको जानकारी दिनुभयो । सबैभन्दा बढी मकवानपुरमा २ हजार ९०२.८३ हेक्टरमा लगाइएको धान खेतीमा क्षति पुगेको छ । यस्तै सिन्धुलीमा ८५५, काभ्रेमा ६०२.१, ललितपुरमा २११.५, नुवाकोटमा १९८.२२५, धादिङमा १८४ र रामेछापमा १५७.५५ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा बाढी, पहिरोले क्षति पु¥याएको छ ।
प्रवक्ता कँडेलका अनुसार यस वर्ष मकवानपुरको धान रोपाईं हुने कुल २४ हजार २४७ हेक्टर क्षेत्रफलमा शतप्रतिशत धान रोपाईं भएको थियो । सिन्धुलीमा ११ हजार ८८, काभ्रेमा ९ हजार ९४७, ललितपुरमा ४ हजार १६३, नुवाकोटमा ११ हजार १०९, धादिङमा ११ हजार ३१२, र रामेछापमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
प्रदेशका सबैभन्दा बढी धान खेती भएको चितवनमा भने यस बर्ष बाढी, पहिरोले कम क्षति पु¥याएको छ । चितवनमा २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा ४५ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ । ३ हजार ७१९ हेक्टरमा धानखेती भएको भक्तपुरमा ४९ हेक्टर धानखेती भएको रसुवामा ६.५ र २ हजार ८१४ हेक्टर क्षेत्रफलमा धानखेती भएको दोलखामा ४ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ । यस्तै ८ हजार ५७३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको सिन्धुपाल्चोक जिल्लामा भने बाढी, पहिरोले क्षति नपु¥याएको मन्त्रालयका प्रवक्ता कँडेलले जानकारी दिनुभयो ।
यन्त्रिकीकरणमा कृषकको आकर्षण बढ्दो
बागमतीका कृषकहरुमा यन्त्रिकीकरणतर्फ आकर्षण बढ्दो क्रममा रहेको छ । धान भित्र्याउने क्रम चलिरहेका बेला बागमतीका अधिकांश कृषकहरु यन्त्र, उपकरणको प्रयोग गरेर काम गरिरहेका छन् । कृषकहरु धान काट्नदेखि चुट्न तथा उत्पादित धानलाई भण्डारणका लागि पनि यन्त्र÷उपकरणको प्रयोग गर्दै आएका छन् । कृषकहरु धान काट्न रिपर (हाते मेसिन), चुट्न तथा प्याकिङका लागि थ्रेसरको प्रयोग गर्ने गरेका छन् भने ढुवानीका लागि ट्याक्टरको प्रयोग गर्ने गरेका छन् ।
विगतमा मजदुर खोजेर धान काट्ने तथा चुट्ने काम गर्ने कृषकहरु अहिले धान काट्ने मेसिन (रिपर) को सहयोगमा बिघौं क्षेत्रफलमा लगाएको धान काट्छन् । हप्तौं लगाएर काट्नु तथा चुट्नु पर्ने धान अहिले केही घण्टामै गर्न सकिने भएकाले कृषकहरुको आकर्षण यन्त्रिकीकरणतर्फ बढेको देखिन्छ । पाकेर पहेँलै भएको धान काट्न मेसिनको प्रयोगले छिटो र सजिलो भएको कृषकहरुको भनाई छ ।
हेटौंडा–१७ रानीखोलाका सुशील दाहाल तिहार अघि काटेको धान थ्रेसर लगाएर भित्र्याउन व्यस्त हुनुहुन्छ । उहाँले १३ कठ्ठामा लगाउनु भएको धान काटेर थन्काइसक्नुभएको छ । विगतमा धान काट्न र भित्र्याउन खेतालाको प्रयोग गर्दा भित्र्याउन मात्र ३÷४ दिन लाग्ने गरेको उहाँको अनुभव छ । अहिले मेसिनको प्रयोगबाट एकै दिनमा धान सबै काम पूरा हुने गरेको उहाँले बताउनुभयो । विगतामा धान भित्र्याउन खेताला नहुँदा तराईबाट झिकाउनु पर्ने बाध्यता रहँदै आएकोमा मेसिनको प्रयोगले सो अवस्था नरहेको उहाँको भनाई छ ।
मकवानपुरको फाँट गुरौ खोलामा मेसिनले धान काटिरहेका अर्का किसान विकास श्रेष्ठले मेसिनको प्रयोगले काम गर्न निकै सहज भएको बताउनुभयो । नयाँ प्रविधिको प्रयोग कृषकहरुको काम छिट्टो र सहज बनाएको उहाँले बताउनुभयो । मेसिनको प्रयोगले कृषकहरुको खर्चभार पनि कम गरेको उहाँले बताउनुभयो । खेताला लगाएर काम गर्दा ज्याला, खाजा खर्च बढी हुनुको सार्थ समय पनि बढी लाग्ने गरेको उनको भनाई छ । मेसिनको प्रयोगले कम जनशक्तिमा धेरै काम गर्न र खाजा खर्च जोगाउन सकिएको उहाँले जानकारी दिनुभएको छ ।