आगामी मंसिर १६ गते विभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनय दर्ता गरिएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि मंसिर १६ गतेका दिन मतदान हुनेछ । स्थानीय तहको उपनिर्वाचनमा ४४ पदका लागि ४ सय १० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार रिक्त रहेको ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख ८ जनाका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रिक्त ३४ वडाध्यक्ष पदका लागि ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को रिक्त वडाध्यक्ष पदका लागि पनि १४ जनाले मनोनयन दर्ता गराएका छन् ।
२०७९ बैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो । उक्त निर्वाचन भएको साढे दुई वर्ष बितिसकेका कारण अहिले हुन लागेको उपनिर्वाचनलाई जनमत बुझ्ने महत्वपूर्ण आधार मानिएको छ । सबैजसो राजनीतिक दलहरुले २०८४ सालमा हुने निर्वाचनलाई ‘मिसन ८४’ को रुपमा तयारी गर्न थालेका कारण अहिले हुन लागेको उपनिर्वाचन महत्वपूर्ण हुने अनुमान गर्न सकिन्छ । सातै प्रदेशका ३१ जिल्लाका विभिन्न स्थानीय तहमा उपनिर्वाचन हुन लागेका कारण यसको परिणामले देशभरको जनमतलाई बुझ्न राजनीतिक दलहरुलाई सहयोग गर्दछ । २०७९ पछि कुन दल लोकप्रिय हुँदैछ र कुन दलको जनमत कमजोर बनेको छ भन्ने अनुमान गर्न आगामी उपनिर्वाचन उपयोगी हुने भएकाले सबैजसो दल तथा उम्मेदवारले यो निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिने निश्चित छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ । सोही अनुसार देशका विभिन्न स्थानीय तहसँगै हेटौंडा–१२ मा पनि उपनिर्वाचन हुन लागेको हो । हेटौंडा–१२ का वडाध्यक्ष ललितकुमार घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त थियो । आइतबार उक्त पदका लागि ९ राजनीतिक दल र ५ जना स्वतन्त्र गरी १४ जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगको निर्वाचन कार्यतालिका अनुसार मंसिर ५ गते उम्मेदवारको अन्तिम नामाबली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यसपछि निर्वाचनको प्रचारप्रसारले तिब्रता पाउनेछ ।
विगतको निर्वाचन परिणाम हेर्ने हो भने हेटौंडा–१२ मा कांग्रेस, एमाले र माओवादीबीच नै प्रतिस्पर्धाको सम्भावना छ । वैकल्पिक राजनीतिक दल तथा स्वतन्त्र रुपमा निर्वाचन जितेका केही व्यक्तिको चर्चाका कारण निर्वाचन परिणाम अनुमान गर्न सहज देखिँदैन । आगामी उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सबै राजनीतिक दल तथा उम्मेदवारहरु जुट्ने नै छन् । हेटौंडा–१२ मा यस अघिका दुईवटै स्थानीय तह निर्वाचन माओवादीले जितेको भए पनि २०७९ को निर्वाचनमा माओवादीसँग कांग्रेस र एमालेका उम्मेदवारको मतान्तर क्रमशः ३१ र ४६ मात्र रहेकाले तीनवटै दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । दलीय प्रतिष्ठा बनेको स्थानीय तह उपनिर्वाचनले ‘मिसन ८४’ को रिहर्सल हुने अनुमान गरिएको छ ।