हेटौँडाः बागमती प्रदेशमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीत संयन्त्र गठन गरिएको छ । आइतबार बसेको दुई दलका नेता सम्मिलित बैठकले प्रदेशस्तरीय संयन्त्र गठन गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले संयन्त्रको संयोजन आलोपालो गर्ने निर्णय गरेको छ । मंसिर महिनासम्मको संयोजन भने कांग्रेसले गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेशका जिल्लाहरुमा पनि संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ । प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशिघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिनुभएको छ ।
बैठकले दुई दलले एक÷एक महिना आलोपालो बैठकको संयोजन गर्ने र २०८१ साल मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट एक÷एक जना रहने, संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले बागमती सरकारका मन्त्रीहरुको संयुक्त बैठक आगामी २०८१ मंसिर ३ गते हेटौंडामा बसी प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी लिने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मूख्यमन्त्री बहादुर सिंह लामा तामाङ, कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, नेकपा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको सहभागिता रहेको थियो ।