हेटौँडाः बागमती प्रदेशको सर्वदलीय बैठकले विगतका निर्णय कार्यान्वयनको अवस्था बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आइतबार कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा बसेको बैठकले गत असोज ६ र १४ मा बसेको सर्वदलीय बैठकको निर्णय कार्यान्वयनको अवस्था बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले गत असोज ६ मा भएको बजेट कार्यक्रममा छुट आयोजना समावेश गर्ने तथा असोज १४ मा विपद् प्रभावित नागरिकको राहत सम्बन्धमा निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनको अवस्था बारे आइतबारको बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उपनेता चित्रकारले बताउनुभएको छ । उहाँका अनुसार आइतबारको बैठकले बजेटमा थप हुने कार्यक्रमको बारेमा अध्ययन गर्ने निर्णय गरेको छ । विगतमा भएका सहमति अनुसार चालु आर्थिक वर्षको बजेटमा थप हुने रकम माग गरी अध्ययन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले गत असोज ६ गते बसेको सर्वदलीय बैठकको निर्णय अनुसार असन्तुलित बजेट परिमार्जन गर्ने रकम विवरण माग गरी अध्ययन गर्ने निर्णय गरेको उपनेता चित्रकारले बताउनुभयो । उहाँका अनुसार सहमति र निर्णयहरु कार्यान्वयन नहुने अवस्थाको अन्त्यका लागि रकम विवरण माग गरेर आवश्यक अध्ययन गर्ने निर्णय गरेको हो । असोज ६ मा बजेट कार्यक्रममा छुटेका कार्यक्रमहरु दलगत रुपमा माग गरेर समावेश गर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।
त्यस्तै आइतबारको सर्वदलीय बैठकले असोज १४ मा भएको बैठकको निर्णय कार्यान्वयनको अवस्था बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा गत असोज १४ मा विपद् प्रभावित नागरिकलाई वितरण गर्ने राहत रकमको कार्यान्वयनको अवस्था बारे सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको चित्रकारले बताउनुभयो ।
असोज १४ को बैठकले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउन, विपद्मा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने, अस्थायी आवास निर्माणका लागि पूर्ण क्षतिको विवरण संकलन गरी प्रदेश सरकारले १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।