हेटौंडाः हेटौंडामा प्रथम संस्करणको जिल्लास्तरीय मेयर कप कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते संघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा पहिलो संस्करणको जिल्लास्तरीय मेयर कप खुला कराँते प्रतियोगिता हुने भएको हो ।
बुधबार सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपकबहादुर तामाङले पत्रकार सम्मेलन आयोजना गर्दै आगामी मंसिर १४ र १५ गते २ दिनसम्म हुने कराँते प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ । आफू कराँते संघको अध्यक्ष पदमा आवद्ध भएदेखि विभिन्न कारणले प्रतियोगिता सञ्चालन गर्नुपर्ने क्रममा खेल आयोजना गर्न नसकेको अवस्थालाई मध्यनजर गरेर प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष तामाङले बताउनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि बजेटको सन्दर्भमा आवश्यक छलफल गर्न बाँकी रहेको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले प्रतियोगिताका लागि २ लाख रुपैयाँ सहयोग गरेको उहाँले बताउनुभयो ।
हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउस र हेटौंडा–१० स्थित एस–वान स्नुकर क्लबको पनि प्रतियोगितामा प्रायोजन रहने उहाँले बताउनुभयो । मकवानपुर जिल्लाका १५ वटा डोजाङबाट महिला र पुरुष गरी करिब ३ सय ४५ जना खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहने अनुमान रहेको जानकारी दिँदै अध्यक्ष तामाङले भन्नुभयो–.‘१५ देखि २० जना रेफ्री बाहिरबाट र बाँकी स्थानीय रेफ्रीको सहभागिता रहनेछ । प्रतियोगितामा खेलाडी र अफिसियलसहित ३ सय ४५ जनाको सहभागिता रहनेछ ।’
प्रतियोगितामा पुरुषतर्फ २५ देखि ६७ केजी तौल समूहका र महिलातर्फ २५ देखि ६० केजी तौल समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । मकवानपुरको बागमती गाउँपालिकाको पाँच पाण्डब डोजो र बागमती डोजो, बकैया गाउँपालिकाको फापरबारी डोजो र बकैया डोजो, हेटौंडा उपमहानगरपालिकाको लेवट डोजो, नवलपुर डोजो, लामसुरे डोजो, वंशगोपाल डोजो, थानाभर्याङ डोजो, बसामाडी डोजो, मयूरधाप डोजो, चौघडा डोजो, थाहा नगरपालिकाको पालुङ डोजो र बज्रबाराही डोजो, मकवानपुरगढी गाउँपालिकाको गढी डोजो र मेन डोजोबाट खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा महिला पुरुषको एकल काता विधामा पनि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि निःशुल्क खाना र बासस्थानको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रतियोगितमामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमहरुले पनि ट्रफ्री प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडी १÷१ जनाले ट्रफ्री र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ ।
पत्रकार सम्मेलनमा सितोरियो कराँते संघका उपाध्यक्ष रोशिक श्रेष्ठ, सचिव नारायणप्रसाद थपलिया, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक पूर्णभक्त लामा, जिल्ला सदस्य तथा एस–वान स्नुकर क्लबका सञ्चालक सुनिल खड्गी, प्रशिक्षक सुरेन्द्रमान श्रेष्ठ, मुकुन्दमान श्रेष्ठ र पशुपति बर्तौलाको उपस्थिति रहेको थियो ।