हेटौंडाः पश्चिमी मकवानपुरमा सक्रिय युवाहरुको संस्था चैनपुर जेसीज मनहरीको आयोजनामा हुन लागेको खुला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । मनहरी–४, मसिनेस्थित गोलघर खेल मैदानमा हुन लागेको दोस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबलको खेल तालिका बुधबार सार्वजनिक भएको हो ।
भोलि शुक्रबार हुने उद्घाटन खेलमा मनहरी गाउँपालिकाको ४ नम्बर वडा र एफसी नमोबुद्धको टिमबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजेबाट सुरु हुने खेलतालिकामा उल्लेख गरिएको छ ।
प्रतियोगिताका लागि मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजन रहनेछ । प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा मनहरी–४, एफसी नमोबुद्ध, सक्षम युवा क्लब, एफसी ढिँडो, कमाने फुटबल एकेडेमी, जेसीआई मकवानपुरगढी, पदमपोखरी युनाइटेड एफसी, आरआर एफसी, हाँडीखोला युथ क्लब, जनसिद्ध युवा क्लब, एफसी परेली क्लब, टिएनटी मनहरी, हेटौंडाको नारायणी कलेज, मनहरी २ नम्बर वडा, मनहरी ५ नम्बर वडा र ऋषेश्वर युवा क्लबको टिमको सहभागिता रहनेछ ।
चैनपुर जेसीज मनहरीको स्थापना भएसँगै गत वर्षबाट जेसीज कप खुला फुटबल प्रतियोगिताको सुरुवात गरेको आयोजकले जानकारी गराएको छ । खेलको विकास एवम् युवाहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापनाका लागि प्रतियोगितालाई निरन्तरता दिँदै आएको क्लबले जनाएको छ । प्रतियोगिताका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसिर ३ गते हुनेछ ।