नेपालको तराई मधेशमा लोकप्रिय छठ पर्वको आज मुख्य दिन हो । नेपालको तराई मधेश र भारतको उत्तरी क्षेत्रका हिन्दू समुदायले मनाउने छठ पर्व पछिल्लो समय सबैतिर विस्तार हुँदै गएको छ । मधेशी मूलका नेपालीहरु देशका सबै क्षेत्रमा बसोबास गर्ने भएका कारण पहाडी मूलका नेपालीहरुले पनि छठ पर्व मनाउन थालेका हुन् । दशैँ, तिहारजस्तै छठ पनि नेपालीको साझा पर्व बन्दैछ । छठ पर्व नमनाउनेहरु पनि छठ पूजास्थलमा दर्शनार्थीको रुपमा जाने क्रम वर्षेनि बढिरहेको छ । चार दिनसम्म मनाइने छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा विशेषरुपमा सजाइएको जलाशय किनारको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ दिने र पूजा आराधना गर्ने गरिन्छ । यसवर्ष छठ पूजा आज कार्तिक २२ गते परेको छ । षष्ठी तिथिका दिन मनाइने भएकाले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ ।
छठी (षष्ठी) मातालाई पुकारेर सूर्यको पूजा
आराधना गरिने छठ पर्व कार्तिक शुक्ल चतुर्दशीदेखि सुरु भएर कार्तिक शुक्ल सप्तमीका दिन समापन गरिन्छ । छठ पर्वको सुरुका दुई दिन घरघरमै र अन्तिम दुई दिन नदी, खोला, पोखरी, तलाउ, इनारजस्ता जलाशयको छेउमा बसेर पूजा आराधना गरिन्छ । छठ पूजाका लागि जलाशयका किनारमा सरसफाई गर्दै रंगीचंगी बनाइन्छ । आफ्नो घर छाडी विभिन्न ठाउँमा अध्ययन तथा रोजगारीका लागि रहेका, विद्यार्थी र व्यवसायीहरु छठ मनाउनका लागि आफ्नो मूल घर फर्किने गर्दछन् । तिहारको समापनसँगै छठ पर्वको रौनक सबैतिर सुरु हुन्छ । तिहारको भाइटीकाको दुई दिनपछि छठ सुरु हुन्छ । वैदिक सनातन धर्मका सबैजसो पर्व अनि शक्तिहरु प्रकृति अर्थात् पृथ्वीको वरिपरि घुमेका हुन्छन्, जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानिक रहेका छन् । छठ पर्व पनि सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि ऊर्जाको मुख्य स्रोत मानिने सूर्यसँगको मानवको सहअस्तित्वलाई छठले उजागर गर्ने गरेको छ । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामनासमेत गरिन्छ ।
चार दिनसम्म मनाइने छठको पहिलो दिन अरबा अथवा नहाई खाय भनिन्छ भने दोस्रो दिनलाई खरना भनिन्छ । अरबाको दिन गाउँ, टोलका युवाहरु मिलेर छठ मनाइने जलाशय, त्यसको किनार तथा बाटो सफा गर्ने र आवश्यक सामग्री व्यवस्थापन गरिन्छ । छठको दोस्रो दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रुपमा खाने र परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । छठको सबैभन्दा महत्वपूर्ण तेस्रो दिनको साँझमा सूर्यलाई अर्घ दिने भएकाले सँझिया अर्घ भनिन्छ । यस दिन साँझको समयमा ब्रतालुहरु जलाशयको पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई अर्घ दिने गर्दछन् । छठको चौथो तथा अन्तिम दिनलाई बिहनीया अर्घ पारण भनिन्छ । चौथो दिनको विहानै सूर्य उदाउनुअघि नै जलाशय किनारमा पुगी उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व तथा छठको व्रत समापन गरिन्छ । केही ब्रतालुहरु छठघाटमै रातभर जाग्राम बसेर छठी माताको भजनकीर्तन समेत गर्दछन् ।
विशेषरुपमा तराई मधेशमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने छठ पर्व संस्कृतिको रुपमा सबैतिर विस्तार हुँदै जानु खुशीको कुरा हो । समावेशी संस्कारले जातीय र भौगोलिक दूरी घट्दै गएका कारण यो पर्व अहिले सबै नेपालीको पर्वका रुपमा विकसित हुँदै गएको छ । छठ पर्वमा अहिले हिमाल, पहाड र उपत्यकाबासीले पनि हर्ष र उमंगका साथ सहभागिता जनाउन थालेका छन् । यो पर्वले मधेशी र पहाडीबीचको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सौहार्दपूर्ण सम्बन्ध पनि विकसित गर्दै लगेको छ । भौगोलिक र जातीय विभेदको अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि छठ पर्व सहयोगी बन्न सक्छ । यस वर्षको छठ पर्वले सबै नेपालीबीच एकता कायम गर्न सकोस् । छठी माइले सबैको मनोकामना पूरा गरुन् । छठ पर्वको अवसरमा सबैमा शुभकामना ।