दशैं र तिहारजस्ता नेपालीहरुको महत्वपूर्ण चाडपर्वको समयमा बजारमा विभिन्न प्रकारका अनियमितता देखिने गरेका छन् । चाडपर्वमा किनमेलका लागि ग्राहको चाप बढी हुने भएकाले बजारमा विभिन्न विकृति तथा अनियमितता बढ्ने गर्दछ । दशैं, तिहारको समयमा दैनिक उपभोग्य वस्तुलगायत अन्य सामग्रीको मूल्यवृद्धि हुने, कृत्रिम अभाव सिर्जना गर्ने, मिसावट गर्ने, गुणस्तरहिन वस्तु बिक्री गर्नेलगायत अन्य कालोबजारी मौलाउने गर्दछ ।

चाडपर्वलाई आम नेपालीले आपसमा सुखदुःख साटासाट गर्ने अवसरको रुपमा लिने गरेको भए पनि कालोबजारी गर्नेहरुले कमाउने ठूलो मौकाको रुपमा लिने गर्दछन् । चाडपर्वको समयमा नियमनकारी निकायले बजार अनुगमनलाई पनि तिब्रता दिने गर्दछन् । समयसमयमा हुने बजार अनुगमनले उपभोक्ता अधिकारको रक्षा गर्नुका साथै कालोबजारी गर्न खोज्नेलाई निरुत्साहित गर्ने अनुगमन र कारबाही प्रभावकारी नहुँदा उपभोक्ता ठगिने क्रम रोकिन सकेको छैन ।

बजार अनुगमन र कारबाही प्रक्रिया फितलो हुँदा मकवानपुरको मनहरी बजारबाट अनुगमन टोलीले शील गरेको ६० बोरा चामल गायब भएको छ । गत असोज ६ गते मनहरी बजारको मंगलमय ट्रेडर्समा शील गरिएको ६० बोरा चामल हराएको पाइएको हो । शील गरिएको चामलको परीक्षणका लागि नमूना संकलन गर्न जाँदा चामल हराएपछि अनुगमन टोलीले कारबाही गर्न गाउँपालिका कार्यालयलाई लिखित अनुरोध गरेको छ । ओम कैलाश ब्राण्डका ५३ बोरा र लक्ष्मी राइस मिलबाट उत्पादित ७ बोरा चामलको बोरामा लेबल नभेटिएपछि बिक्री वितरण र उपभोग नगर्न भन्दै शील गरिएको थियो । मनहरी गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय मनहरीको टोली एक महिनाअघि शील गरिएको चामलको नमूना संकलन गर्न जाँदा शील तोडेर चामल गायब पारिएको थाहा भएको हो ।

गाउँपालिकाले शील गरेको लामो समयपछि मात्रै नमूना संकलन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई पत्राचार गर्नुले नियमन र कारबाही प्रक्रिया फितलो रहेको पुष्टि गर्दछ । असोज ६ गते अनुगमन गरेर शील गरिएको चामलको नमूना संकलन गर्न कार्तिक १२ गतेमात्र जानुले गाउँपालिका नै कालोबजारी गर्ने व्यवसायीको संरक्षक बन्न खोजेको आशंका बढाएको छ । शीलबन्दी गरिएको चामल व्यवसायीले उद्योगलाई नै फिर्ता गरेको भने पनि चामल गायब भएको समाचार सार्वजनिक भएपछि चामल गायब पार्ने फर्मलाई मनहरी गाउँपालिका कार्यालयले ७० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

कार्तिक १४ गते गाउँपालिकाले मंगलमय ट्रेडर्सलाई ७० हजार रुपैयाँ जरिवाना तिर्न र २४ घण्टाभित्र हराएको चामल ल्याएर गोदाममा राख्न निर्देशन दिएको थियो । ट्रेडर्सले सोही दिन गाउँपालिका कार्यालयको खातामा ७० हजार रुपैयाँ जरिवाना तिरेको छ ।

नियमनकारी सरकारी निकायले शीलबन्दी गरेर नियन्त्रणमा राखेको चामल व्यवसायीले गायब बनाउनु सामान्य विषय होइन । यस विषयमा थप अनुसन्धान गरेर दोषीलाई प्रभावकारी कारबाही गरिनु पर्छ । नियमविपरित काम गर्ने व्यवसायीलाई गाउँपालिकाले सामान्य जरिवाना तिराएर उन्मुक्ति दिइयो भने भविष्यमा यस्ता अनियमितताले थप प्रश्रय पाउने सम्भावना रहन्छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यवसायीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ । अहिले भएका कानुनी व्यवस्था पर्याप्त नभएमा कानुनमा संशोधन गरेर थप कडाई गर्नु आवश्यक छ । बजार नियमनलाई प्रभावकारी बनाउँदै उपभोक्ता हित संरक्षणका लागि नियमनकारी निकायले नियमित बजार अनुगमन गर्नुपर्छ । अुनगमनपछि परीक्षण कार्य चाँडै सम्पन्न गरेर कारबाही प्रक्रियालाई प्रभावकारी बनाउन सकेमा अनुगमनको प्रभावकारिता देखिन्छ ।