हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको भएको छ । प्रदेशको सिन्धुली, चितवन र सिन्धुपाल्चोक जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१४, कालीखोलामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षीय नवराज खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा खड्का आफ्नै घरमा पानि तान्ने मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागि घाइते भएका थिए । घाइते खड्कालाई उपचारका लागि उदयपुर कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका–१, रामनगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१४, का ५४ वर्षीय धन प्रसाद भट्ट रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ६ बजेर २० मिनेटको समयमा परेवाश्वरी पेट्रोल पम्प अगाडी मुग्लिङ्गबाट लोथर तर्फ आउदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भट्ट घाइते भएको थिए । घाइते भट्टलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा साँझ ६ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बस चालक चितवन राप्ती नगरपालिका–२, गडौलीका ३६ वर्षीय काजी बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१, चिउरी खर्कमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–४, लामिडाँडा बस्ने ३४ वर्षीय बुद्ध सुनार रहेको प्रहरीले जानकारी दिएको छ । सुनार कात्तिक ७ गते देखी सिन्धुपाल्चोकको २ किलोबाट हराई बेपत्ता भएका थिए । सुनारलाई खोज तलास गर्दै जाँदा सोमबार बेलुका ९ बजेको समयमा चिउरी खर्क स्थित खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४, डाँडागाउमा सुतेको ठाउँमा एक पुरुष मृत फेला परेका छन् । सोमबार दिउँसो २ बजेको समयमा ५० वर्षीय सोम बहादुर बम्जन मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । बम्जन बिहान ८ बजे देखी आफ्नै घरको पिढीमा सुतेको अवस्थामा मृत फेला परेका थिए । अनुसन्धानका क्रममा बम्जनले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।