ईलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक ललिता ढकाल र प्रहरी उपरीक्षक ढकालबीच कार्यसम्पादन सम्झौतापत्र आदानप्रदान गरिँदै ।

हेटौँडाः मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले मातहतका प्रहरी प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । असोज दोस्रो साता जिल्लाको नेतृत्व सम्हाल्नु भएका प्रहरी उपरीक्षक खड्काले सोमबार नियमित मासिक बैठकमा कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

नियमित मासिक बैठकमा चाडपर्व लक्षित सुरक्षा योजनाको कार्यान्वयन र वर्तमान सुरक्षा चुनौतीहरुको विश्लेषण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैठकमा समसामयिक विषयमा पनि छलफल गरी मातहतका प्रहरी इकाईका प्रमुखहरुलाई प्रहरी उपरीक्षक खड्काले निर्देशन समेत दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुखसँग भएको वार्षिक कार्यसम्पादन सम्झौतामा आधारित भएर प्रहरी उपरीक्षक खड्काले मातहतका प्रमुखहरुसँग सम्झौता गर्नुभएको हो ।

कार्यसम्पादन सम्झौता कार्यक्रममा सहभागी प्रहरीहरु ।

मकवानपुर जिल्लामा अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, प्रहरीको क्षमता अभिवृद्धि तथा समग्र लक्ष्य प्राप्तिका अभिप्रायले मातहत वडा, ईलाका प्रहरी कार्यालयलगायत सम्पूर्ण प्रहरी इकाईहरु समेतलाई जिम्मेवार एवम् उत्तरदायी बनाउन बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको हो । प्रहरी उपरीक्षक खड्काले जिल्लाको सुरक्षा जिम्मेवारी लिनुभएलगत्तै लागुऔषध, अवैध तस्करीका घटना नियन्त्रणमा तदारुकता देखाउनुभएको छ ।