छलफलमा सहभागी सरोकारवाला ।

हेटौँडाः बागमती प्रदेशले रोजगारी सृजना र उद्यमशीलतालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताइएको छ । पाठ्यक्रम निर्धारणका लागि बागमती विश्वविद्यालयले हेटौंडामा आयोजना गरेको उद्योग तथा व्यवसाय क्षेत्रसँगको छलफलका क्रममा विश्वविद्यालयको पाठ्यक्रममा रोजगारी र उद्यमशीलताको विषय अध्यापन गरिनुपर्ने बताएका हुन् ।

छलफलमा सहभागीहरुले नेपालको भुगोल अनुकुल उत्पादन र व्यवस्थापनका विषयहरु व्यवहारिक रुपमा पठनपाठन हुनेगरी अध्यापन गराउनुपर्ने उनीहरुको भनाई छ । विश्वविद्यालयको कोर्ष निर्माणका चरणमा नै औद्योगिक उत्पादन तथा व्यावसायिक रुपमा जोड्ने गरी अघि बढ्नुपर्ने उनीहरुले बताए । विश्वविद्यालयले प्राविधिक विषय अध्ययन गरेका तथा तालिम लिएका व्यक्तिहरुको लागि पनि उचित व्यवस्थापन गर्नुपर्नेमा सहभागीको जोड थियो । प्रदेशमा स्थापना हुने विश्वविद्यालयले कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने जनशक्ति उत्पादन गर्नुपर्ने सुझाव सहभागीको थियो । राष्ट्रियता, कानुनी राज्य, समाज तथा संस्कृति परम्पराका सवाललाई पाठ्यक्रमको माध्यमबाट जोड्न जरुरी रहेको उनीहरुले औँल्याए ।

दैनिक उपभोग्य सेवा तथा वस्तुको व्यवस्थापन, नीजि क्षेत्रबाट संचालित व्यवसाय तथा उद्योगधन्दाको व्यवस्थापन गर्ने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको आवश्यकता टड्कारो रहेको उनीहरुको भनाई छ । अध्ययन तथा अनुसन्धानमा आधारित प्रयोगात्मक शिक्षा प्रणालीको विकासमा विश्वविद्यालयको जोड हुन जरुरी रहेको उनीहरुले औँल्याए ।

नागरिकहरुको समस्या हल गर्ने र उत्पादनशील दक्षजनशक्ति उत्पादनमा विश्वविद्यालयको पाठ्यक्रम केन्द्रीत हुनजरुरी रहेको उनीहरुले बताए । लामो अवधिको मात्र नभई छोटो र कम अवधिका सीपमूलक उद्यमलाई पनि पाठ्यक्रमका माध्यमबाट समेटेर पठ्नपाठनको विषय बनाउन जरुरी रहेको उनीहरुले बताए । उद्योग, पर्यटन, यातायात, इन्जिनियरिङ तथा अन्य प्राविधीक विषयको अध्यापन गराउने शिक्षण संस्थाको आवश्यकता रहेको उनीहरुले बताए ।

छलफलका क्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेल, अधिवक्ता मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, निर्माण व्यवसायी राजेन्द्र चौलागाई लगायतले धारणा राखेका थिए । कार्यक्रममा बागमती विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेल, उपाध्यक्ष कुशुमराज सुवेदी, बोर्ड अफ ट्रष्टीका सदस्यहरु कृष्ण कटुवाल, नुरानी ढुंगेल, बच्चुराम अधिकारी, कार्यालय सचिव रुद्र शर्माको उपस्थिति रहेको थियो ।