राजश्वको दर साविककै कायम राख्ने गरी सहमति सामूहिक तस्वीर खिचाउँदै हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी र व्यवसायी । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका सहमति गरेर करको दर संशोधन नगरेपछि मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति बैठक बस्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसमेतको उपस्थितिमा विशेष नगरसभा मार्फत चालु आर्थिक वर्षको आर्थिक ऐनमा संशोधन गरी साविकै करको दर लागु गर्ने भनी व्यवसायीसँग लिखित सहमति गरेको हेटौँडा उपमहानगरपालिकाले बुधबार विशेष नगरसभामा करको दर हेरफेर नगर्ने निर्णय गरेसँगै संघले बैठक बोलाएको हो ।

आर्थिक मन्दीका बेला अस्वभाविकरुपमा अत्यधिक कर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित बनेका थिए । व्यवसायीसँगको लिखित सहमति र पछिल्ला अनौपचारिक सहमतिलाई समेत बेवास्ता गर्दै आर्थिक ऐनमा संशोधन नगर्नु नगरप्रमुख र उपप्रमुखको दम्भ भएको उल्लेख गर्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले भोलि बिहीबार कार्यसमितिको बैठक बसेर भावी कार्यक्रम तय गरिने जानकारी दिनुभएको छ ।

“हामीसँगको सहमतिपछि नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षसहितको समूहले काठमाडौं पुगेर पूर्वअर्थमन्त्री, अर्थसचिव, अर्थविद्सँग भेटेर करको दर संशोधन गर्ने विषयमा छलफल गरेका थियौं”, अध्यक्ष अग्रवालले भन्नुभयो, “पूर्वमन्त्री, अर्थसचिव, अर्थविद्ले राजश्वको दर परिवर्तन गर्न सकिने सुझाव प्राप्त भएको थियो । पछिल्लो समय उपप्रमुख नेतृत्वको कार्यदलसँग पनि करको दरमा केही छुट गर्ने अनौपचारिक सहमति भएको थियो । ती सबै सहमतिलाई बेवास्ता गर्दै एकतर्फी निर्णय भएको छ । हामी भोलि बैठक बसेर आगामी कार्यक्रम तय गर्छौं ।”

नगरसभामा नगरप्रमुख मीना कुमारी लामाले नगरसभालाई सम्बोधन गर्नुभएको थियो । उहाँले करवृद्धिको विरोधमा व्यवसायीको आन्दोलन, व्यवसायीसँगको ८ बुँदे सम्झौताको विषय समेत प्रस्तुत गर्नुभएको थियो ।