हेटौँडाः बागमती प्रदेशको चार जिल्लामा विभिन्न घटनामा परी चार जनाको मृत्यु भएको छ । नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र सिन्धुलीमा समान एक–एक गरी चार जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शनिबार बिहान नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीय उपेन्द्र खनाल रहेको जनाएको छ । शनिबार टोखा छहरे सडकखण्डमा काठमाडांैबाट लम्जुङतर्फ जाँदै गरेको बा १४ च ३८५४ नम्बरको हाईलक्स आफै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खोल्सामा खस्दा खनालसहित ५ जना घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका खनाललाई उपचारका लागि टिचिङ अस्पताल लगिएकोमा बिहान १० बजेर १० मिनेटको समयमा मृत घोषणा गरेको जनाएको छ ।
यस्तै सिन्धुलीको मरिण गाउँपालिका–७ स्थित बाह्रबिसेमा गोठालो गर्दै आइरहेका एक पुरुषको मृत्यु भएको छ । सोही ठाउँम २० वर्षदेखि गोठालो गर्दै आइरहेका सर्लाहीको हरिवन नगरपालिकाका ६२ वर्षीय वीर बहादुर लुङ्गेलीको मृत्यु भएको हो । उनी केही दिनदेखि बिरामी रहेको जनाएको छ । यस्तै रसुवामा शनिबार चीनमा मृत्यु भएकी एक महिलाको शव ल्याएको छ । असोज १३ गते गोसाईकुण्ड गाउँपालिका–६ स्थित ठाडेका २६ वर्षीय रिता घलेको शौचालयमा लडेर मृत्यु भएकी थिइन् ।
शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४, स्याले गिदारीमा एक पुरुषको शव फेला परेको छ । स्याले खोला किनारमा सनाखत हुन नसकेको करिब ३५ वर्षीय पुरुषको शव फेला परेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ ।