हेटौँडाः नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा मकवानपुरका अर्का खेलाडी शुभ कंशाकार पनि बिकेका छन् । कंशाकारलाई जनकपुर बोल्टले ५ लाखमा किनेको छ । आइतबार भएको अक्सनमा सी क्याटागोरीमा रहेका दायाँ हाते व्याट्सम्यान कंशाकारलाई जनकपुरले किनेको हो । यसअघि मकवानपुरका रिजन ढकाललाई चितवन राइनोजले १० लाखमा किनेको छ ।
एनपीएलमा ८ वटा टिमको सहभागिता रहने छ । आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलमा जनकपुरबाट खेल्ने निश्चित भएका कंशाकार मकवानपुर जिल्लाको टिमबाट ओपनर व्याट्सम्यानको रुपमा राम्रो खेल प्रदर्शन गर्दै आएका छन् । ‘सी’ क्याटागोरीमा रहेका कंशाकारलाई अधिकतम् मूल्य अर्थात् ५ लाख रुपैयाँमा जनकपुरले किनेको हो । ‘सी’ क्याटागोरीका खेलाडीको आधारमूल्य २ लाख रुपैयाँ रहेको थियो भने अधिकतम् मूल्य ५ लाख रुपैयाँ रहेको थियो ।
हेटौँडा–२ का कंशाकार उमेर समूहतर्फ यु–१९ देखि नै क्रिकेट खेलिरहेका छन् । प्रदेशस्तरीय प्रतियोगितामा समेत राम्रो प्रदर्शन गर्दै आएका कंशाकारले एनपीएलमा प्रभावशाली खेल प्रदर्शन गर्न सक्ने मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद बानियाँ बताउनुहुन्छ । ५ वर्षदेखि मकवानपुर जिल्लाको टिममा महत्वपूर्ण खेलाडी रहँदै आएका २४ वर्षीय कंशाकार एनपीएलमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिममा सहभागी हुने सम्भावना समेत रहेको बानियाँ बताउनुहुन्छ । एनपीएलको अक्सन जारी छ । एनपीएल अक्सनमा मकवानपुरका तक्षक सिम्खडा र रामनरेश गिरीको नाम पनि समावेश छ । उनीहरु पनि बाँकी रहेको अक्सनमा बिक्री हुने सम्भावना रहेको बानियाँ बताउनुहुन्छ ।