हेटौंंडाः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले लिगका लागि खेलाडीहरुको अक्सन गराएको हो ।

अक्सनमा मकवानपुर रिजन ढकाल १० लाखमा विक्री भएका छन् । बायाँ हाते तीव्र गतिका बलर ढकाल आधार मूल्यमा विक्री भएका हुन् । उनलाई चितवन राइनोजले १० लाखमा किनेको हो । ढकाल ग्रेड ‘ए’ मा थिए । नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टिमका नियमित खेलाडीसमेत रहेका ढकालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आइतबार भएको अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी भएको क्यानले जनाएको छ । लिग आगामी मंसिर १५ गते (नोभेम्बर ३०) देखि पुस ६ गते (डिसेम्बर २१) सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । प्रतियोगिताका लागि असोज ५ गते दर्ता प्रक्रिया खुला गरिएको थियो । उक्त दर्ता प्रक्रिया असोज १२ गते बन्द भएको थियो । अक्सनका लागि ४ सय २३ खेलाडी दर्ता भएका थिए । त्यसमध्ये नेपाल प्रिमियर लिग समितिले १ सय ४२ खेलाडीलाई अक्सनमा सहभागी गराउने निर्णय गरेको थियो । तर, केही खेलाडी छुटपुट पनि भएको भन्दै क्यानले अक्सनमा खेलाडी बढाएर राख्ने निर्णय गरेको थियो ।