कान्तिलोकपथको बकैया–१२, घट्टेपाखामा खसेको पहिरो ।

हेटौँडाः हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरिको कुलेखानी–फाखेल–काठमाडौं सडक खण्ड पनि अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।

सोमबार बिहान साढे ९ बजेको समयमा पहिरो खसेको प्रहरीको भनाई छ । बिहिबारबाट भएको अविरल वर्षाका कारण पहिरो खसेको हो । सो स्थानको पहिरो हटाउन प्रहरी टोली परिचालन गरिएको र प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।

यसअघि बिहिबारदेखि हेटौँडा–काठमाडौं कान्तिलोकपथ सडक पनि अवरुद्ध छ । वर्षा नरोकिएकाले हेटौँडा–काठमाडौं कान्तिलोकपथको बकैया–१२, घट्टेपाखामा खसेको पहिरो हटाउन समस्या भइरहेको प्रहरीको भनाई छ ।