सहयोग सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडाः साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हेटौँडा–४, कर्रास्थित श्रमिक माविलाई सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट एक लाख २५ हजार बराबरको सहयोग गरेको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको हेटौँडा शाखाकी प्रबन्धक कृष्ण कुमारी शर्मा र अधिकृत हरिशरण ढकाल बुधबार विद्यालयमै पुगेर सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको अध्यक्षतामा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो । श्रमिक माविका पूर्वविद्यार्थी निरज सिंह ठकुरीको पहलमा साना किसानले सहयोग गरेको हो ।

साना किसानले पाँच थान र्‍याक, बालविकास कक्षाका लागि म्याट्रेस र कार्पेट, ५० थान चकटी र १० हजार रुपैयाँ बराबरको खेलौना हस्तान्तरण गरेको प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गोपिरमण प्याकुरेलको पनि उपस्थिति रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा छ सय विद्यार्थी अध्ययनरत छन् ।