हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा आज सेमिफाइनल चरणको खेल हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सेमिफाइनल चरणको दुबै खेल हुन लागेको हो ।
बिहीबारको पहिलो सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि सहिद स्मृति क्लब र न्यू कम्बाइन क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि पदमपोखरी युथ क्लब र हाँडीखोला युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
सोमबार भएको क्वार्टरफाइनल खेलमा न्यू कम्बाइनलाई २–१ गोलले हराउँदै एफसी पोताल सेमिफाइनलमा प्रवेश गरेको थियो । तर, खेलमा नियमविपरित एक जना खेलाडीलाई खेलाएको भन्दै कम्बाइनले पोतालाविरुद्ध उजुरी दिएको थियो । उक्त उजुरीलाई फुटबल संघले सदर गरेपछि कम्बाइन विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै, सोमबारै भएको दोस्रो क्वार्टरफाइनल खेलमा सक्षम युवा क्लबलाई टाइब्रेरकरमा हराउँदै पदमपोखरी युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबारको पहिलो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाइज क्लबलाई २–० गोल अन्तरले हराउँदै सहिद स्मृति सेमिफाइनलमा प्रवेश गरेको हो भने दोस्रो खेलमा लिगको साविक विजेता न्यू डाँफे युथ क्लबलाई ३–१ गोलले हराउँदै हाँडीखोला सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । २८ क्लबहरुको सहभागितामा सुरु भएको प्रतियोगिताबाट २४ टिम बाहिरिइसकेका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।