हेटौँडाः बागमती प्रदेशसभा बैठकमा ३ वटा विधेयकको निर्णयको प्रतिवेदन पेश भएको छ । प्रदेशसभाको आइतबार दिउँसो बसेको बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका २ र उद्योग, पर्यटन तथा वातावरण समितिको एउटा विधेयकको प्रतिवेदन पेश भएको हो ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकालले समितिले दफावार छलफल गरेर तयार पारेको प्रदेश स्वास्थ्य ऐन २०७५ लाई व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेश गर्नुभएको हो । उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको निर्णयको प्रतिवेदन पेश गर्नुभएको हो । उक्त विधेयकका प्रतिवेदनहरु माथि सोमबार बसेको बैठकमा छलफलपछि पारित हुनेछ ।
बैठकमा प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेलले ध्यानाकर्षण प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले विद्युतीकरण सम्बन्धी विषयमा पेश गरेको ध्यानाकर्षण प्रस्ताव माथि सभामुख भुवन कुमार पाठकले संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।