आइतबार नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडाः हेटौँडा–५, भैरवरोडस्थित हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट चक्रधर विडारी तेस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ । अधिवेशनबाट डिलाराम तिवारी उपाध्यक्ष, माधव ज्ञवाली सचिव, राजेन्द्र लामिछाने कोषाध्यक्ष चयन हुनुभएको छ ।

यस्तै सदस्यमा तोताद्री नाथ पौडेल, सुदर्शन पाठक, सञ्जीतप्रसाद कानु सर्वसम्मत चयन हुनुभएको छ । लेखा समितिको संयोजकमा तेजप्रसाद दुलाल, सदस्यमा अमित मानन्धर र दीपक कुमार वर्णवाल निर्वाचित हुनुभएको छ । विडारीको अध्यक्षतामा साधारणसभा भएको हो । निर्वाचित समितिका पदाधिकारीलाई आइतबार एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सहकारीको सेयर पुँजी ९१ लाख रुपैयाँ रहेको छ भने सात करोड ३६ लाख रुपैयाँ बचत संकलन गरेको छ । सहकारीले छ करोड ७६ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।