हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षाको गुणस्तर बढाउन अभिभावकलाई सुधार गर्नुपर्ने बताउनु भएको छ । उहाँले शिक्षा क्षेत्रको गुणस्तर बढाउन र नतिजामुखी बनाउन अभिभावकलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अभिभावकको निगरानीमा बालबालिका राख्न सकेमा शैक्षिक गुणस्तर सुधारमा उपलब्धीमूलक नतिजा हासिल हुने बताउनुभयो । बालबालिकाको पहिलो शैक्षिक संस्था घर भएकाले पारिवारिक वातावरण, अभिभावकको हेरचाह, निगरानी तथा व्यवहारले शैक्षिक गुणस्तर कायम गर्न सहयोग मिल्ने उहाँको भनाइ छ । शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयमा मात्र शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सकिने उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले असल नागरिक निर्माणका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकार गम्भीर रहेको उहाँको भनाइ छ । शिक्षालाई अनुसन्धानात्मक र व्यवहारिक बनाउन जरुरी रहेको उहाँको भनाइ छ । सोहीअनुसार बागमती प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री लामाले बताउनुभयो ।
उहाँका अनुसार शैक्षिक पाठ्यक्रम परिमार्जन गर्दै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान अभिवृद्धिमा अघि बढ्नुपर्ने हुन्छ । उक्त कार्यका लागि तीन तहका सरकारबिचको दरिलो समन्वय र संयन्त्र विकास गर्नुपर्ने मुख्यमन्त्री लामाले बताउनुभयो । पठनपाठनको प्रवृत्ति सुधार गर्दै शिक्षाको गुणस्तर कायम गर्न सरकारले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । असान्दर्भिक ऐन, नियम र कानुनलाई समायानुकूल परिमार्जन गरेर शिक्षाको गुणस्तर कायम गर्न र सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रदेश सरकारले लगानी बढाउने बताउनुभयो । उहाँले सरकारको पहलमा मात्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेकाले सबै सरोकारवाला निकाय गम्भीर रहनुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षक तथा अभिभावक र विद्यालय व्यवस्थापन समितिलाई ठोस योजना निर्माण गर्न निर्देशन दिनुभयो । युवा, विद्यार्थी पलायन रोक्न र दक्ष जनशक्ति उत्पादनमा शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ ।
१० विद्यालय पुरस्कृत
शिक्षा दिवसको अवसरमा प्रदेशका १० विद्यालयलाई पुरस्कृत गरिएको छ । दिवसको अवसरमा ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो ।
शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले छनौट गरेका सामुदायिकतर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौं, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौं र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौं उत्कृष्ट भएका छन् । संस्थागततर्फ ह्विज किड्स इन्टरनेशनल स्कूल बालुवाटार काठमाडौं, रिलायन्स इन्टरनेशनल एकेडेमी बुढानिलकण्ठ काठमाडौं, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौं, शांकरी स्कुल छाउनी काठमाडौं र माउण्ट ग्लोरी इग्लिस बोर्डिङ स्कूल उत्कृष्ट भएका हुन् । उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरुलाई क्रमशः १ लाख रुपैयाँ, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।
शिक्षा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । जसमा स्कृति चौलागाई काँसबारी माध्यमकि विद्यालय काठमाडौं प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि माध्यमिक विद्यालय शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर माध्यमिक विद्यालय पनौती काभ्रे तृतीय भएका थिए । उनीहरुलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।