हेटौँडाः संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा प्रदेश राजधानी हेटौँडामा आयोजित प्रभातफेरी हेटौँडा बजारक्षेत्र परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।

बिहान ७ बजे हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरबाट सुरु भएको प्रभातफेरी स्कुलरोड, बुद्धचोक, चौकीटोल, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेको थियो । झाँकी तथा बाजासहितको प्रभातफेरीमा मुख्यमन्त्री बहादुर सिंह लामा, प्रदेशका विभागीय मन्त्री, प्रदेश सभा सदस्य, मन्त्रालयका सचिवहरु, कर्मचारी, सुरक्षा निकायका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । बागमती प्रदेश सरकारले संविधान दिवस मनाउन मुख्यमन्त्री लामाको अध्यक्षतामा ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो ।