प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ।

हेटौँडाः बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानले जनताको अधिकारलाई आत्मसात गरेको बताउनुभएको छ । संविधानले राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेको उहाँले बताउनुभयो ।

संविधान दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहिबार आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले इतिहासमा पहिलो पटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले संविधानसभा मार्फत जारी भएको संविधान आफैँमा उत्कृष्ट रहेको बताउनुभयो । जनताको प्रतिस्पर्धामक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, निष्पक्ष तथा सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा संविधानको मुख्य विशेषता रहेको उहाँको भनाई छ ।

“संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेको छ । जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गरेको छ”, प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, “संविधानले नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्रताको विशेषता बोकेको छ । विविधतामा एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धनमा संविधानले जोड दिएको छ ।”

लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न संविधानले मार्गदर्शन गरेको उहाँले बताउनुभयो । संविधानको मर्म र भावनालाई अक्षरशः पालना गरेमा देश समृद्धितर्फ द्रुतगतिमा अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको त्याग र बलिदानको उपज यो संविधान नेपाली जनभावना र मर्म सापेक्ष रहेको उहाँले बताउनुभयो । “संविधानले निर्दिष्ट गरेका पक्षहरुलाई कार्यान्वयन गर्दै अघि बढ्दा सकारात्मक परिणाम प्राप्त हुनेछ । कार्यान्वयनको इमान्दारितामा सबै पक्षको उचित पहल अनिवार्य छ”, उहाँले भन्नुभयो ।