हामी मानवको स्वरुपमा जन्मनु मात्र मानिस हुनु होइन । मानव भएर जन्मेपछि मानव भित्र हुनुपर्ने गुण, स्वभाव र आचरण पनि हुन जरुरी छ । के हामीमा मानिसमा हुनुपर्ने गुण हुँदै नभएको हो त ? त्यो पनि होइन तर हामीले कहिले काहीँ भौतिकता र आफ्नो स्वार्थी भावनाले बिर्सेको मात्र हो । यही बिर्साइलाई सदा सम्झनलायक बनाउन हामीले केही प्रयास र कर्महरू गर्नु पर्दछ ।
असल कर्म र सेवाभावले हामीलाई जन्म जन्मान्तरसम्मका लागि जीवित बनाउने छ । भगवान् बुद्धको वाणी छ नि, “जन्म भाग्यको कुरा हो, मरण समयको कुराको तर मरण पछिको स्मरण कर्मको कुरा हो ।” हामी जस्तो कर्म गर्छौ त्यही रूपमा हामीलाई संसारले चिन्नेछ । हिट्लरलाई हामीले देखेका छैनौं तर कथाहरूमा क्रूर व्यक्तिको रूपमा पढेका छौं । करम चन्द गान्धी (महात्मा गान्धी) वा वापुलाई पनि हामीले देखेका छैनौं तर करुणावान, अहिंसावादीका रूपमा हामीले पढ्ने गरेको छौं ।
अब मनमा जिज्ञासा रहन सक्छ कस्तो कर्मले मानिस खुसी हुन सक्छ ? जसले अरूको खुसीमा मलजल थप्छ, दुःखको समयमा आफूसँगै भएको अनुभूति गराउन सक्ने व्यक्ति खुसी हुन्छ । “हामी कसैको खुसी लेख्ने पेन्सिल बन्न सक्दैनौँ भने पनि कम्तीमा उसको निराशा बेचैनी मेटाउने इरेजर चाहिँ बन्नै पर्छ ।” अनि त्यही व्यक्ति खुसी हुन्छ । मानिसको जीवन दुई प्रकारको हुन्छ । एउटा आइसक्रिमको जस्तो र अर्को मैनबत्तीको जस्तो । पग्लिन त दुबै पग्लिन्छ तर आइसक्रिमको सन्देश बाँचुन्जेल हामीले मोज–मज्जा गर्नु पर्छ । कुन दिन पग्लिएर सकिनु पर्छ थाहा हुन्न । मैन वत्तिको सन्देश पग्लिएर सकिँदासम्म पनि हामीले अरूका लागि उज्यालो ज्योति बनेर रहन सक्नु पर्छ । त्यो नै जीवनको सार हो ।
सेवा र करुणाका कुरामा धेरै मानिस म व्यस्त छु भन्ने गर्छन् तर एउटा गतिलो उदाहरण आचार्य लक्ष्मण भण्डारीले आफ्नो पुस्तक अनमोल दृष्टान्तका माध्यम हामीलाई दिनुभएको छ । एकपटक एकजना अमेरिकी पूर्वराष्ट्रपति एउटा विशिष्ट समारोहमा सहभागी हुन जाँदै थिए । उनी विशिष्ट पहिरनमा सजिएका थिए । उनको शीघ्र प्रतिक्षा गरिँदै थियो । उनी जुन बाटो भएर त्यस समारोहमा भाग लिन जाँदै थिए, त्यस बाटोको बीचमा एउटा सुँगुर हिलोमा गाडिएर कराइरहेको थियो । ऊ उम्कन, हिलोमुक्त हुन खोजिरहेको थियो, तर उसका सम्पूर्ण प्रयासहरू खेर गइरहेका थियो । त्यो दारुण एवम् कारुणिक दृश्यमाथि अकस्मात् कारमा सवार राष्ट्रपतिको नजर प¥यो । जब उनले त्यो गम्भीर दृश्य देखे, उनलाई असह्य भयो । उनी कारबाट तत्काल झरे र त्यो हिलोमा भासिएको सुँगुरलाई बाहिर निकाले अनि परम सुखको अनुभव गरे ।
उनी हिलाम्य भए र विशिष्ट कार्यक्रमको प्रमुख अतिथि बन्न गए । कपडा हिलाम्य देखेर आयोजकले कारण सोधे । राष्ट्रपतिले ढिला हुनुको कारण बताउँदै क्षमायाचना गरे । आफ्नो परम आनन्द र खुसीका लागि कर्म गरेर आएँ । म मेरो मनलाई दुख नहोस् भनेर गरेको कर्मका कारण धन्यवादको पात्र होइन भन्नुहुन्छ । म आफ्नो परोपकार र कर्तव्यलाई पुरा गरेर आएँ । हो यस्तै भजन छनी,
नत नदी पिउँछन् आफ्नै जल,
वृक्ष न चाख्छन् आफ्नै फल,
आफ्नो तन मन धन अर्पेर अरूका लागि बाँच्छ जो,
सच्चा मानव त्यही हो, सच्चा मानव त्यही हो ।
मानव हुनुको पहिलो पाइला नै परोपकार नै रहेछ । तर विडम्बना हाम्रो देशमा परोपकारी पाठ पढाइने केन्द्र धेरै छैनन् । यसैलाई सम्झेर महाकवि देवकोटाले एउटा लेखेको गीत
कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ?
कुन सामाग्री पूजा गर्ने, साथ कसरी लाने हो ?
परोपकारका लागि कुन मन्दिरमा जाने, के–के लाने भन्ने भावमा लेख्नु भएको यो हरफले हरेकका लागि सेवाका लागि प्रेरणा दिन्छ । संसारका सबै धर्मको सार भनेकै सेवा, परोपकार, पूण्य, दान, करुणा, प्रेम नै हो । १८ पूराण लेखिसकेपछि वेदव्यासले लेख्नुभएको सार “परोपकार गर्नु पूण्य हो, परपिडन गर्नु पाप हो” र हाम्रो जीवनको सार पनि त्यही हो । हाम्रो शरीरका अङ्गहरूले पनि सेवा र परोपकारलाई प्रेरणा दिएको पाइन्छ, सन्देश दिएको पाइन्छ । जस्तै शरीरमा कुनै चोट लाग्यो आँखाले आँसु बगाउँछ, दाँतमा खाना अड्कियो भने जिब्रोले सहयोग गर्छ, कपालमा केही प¥यो, आँखामा केही प¥यो हातले सहयोग गर्छ ।
अब परोपकारको पाठ सिक्नका लागि एक यस्तै परोपकारी मानवताको भावना बोकी २०६९ सालबाट देशव्यापी मानवता प्रवद्र्धनको कार्यक्रम तथा सेवा गर्दै, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रको परिकल्पना साथ सुरु भएको मानवसेवा आश्रम मानवता सिकाइको केन्द्र बनेको छ । प्रयोगात्मक शिक्षणस्थल बनेको छ । सातै प्रदेशको १९ जिल्लामा २५ सेवा केन्द्र मार्फत देशको ७७ वटै जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्दार गरेको छ । सेवा शुभारम्भको १२ वर्ष पूरा गर्दै गर्दा एक सामाजिक सिकाइको केन्द्र, सद्भाव, प्रेम, करुणा, दया, मायाको सिकाई स्थल बनेको छ ।
मानवसेवा आश्रमको प्रायः सबै सेवा केन्द्रहरूमा विद्यार्थी, शिक्षक, कर्मचारी, सर्वसाधारण, सबै वर्ग वा स्तरका पेसा वा सेवामा आबद्ध व्यक्तिहरूले अवलोकन गर्ने गरेका छन् । यो मासिक रुपमा १०,००० भन्दा बढीको सङ्ख्यामा हुने गरेको छ । सकारात्मक सोच, सबैप्रति आदर, सम्मान, मायाको भावना भयो भने मानिस साँचो अर्थमा सुन्दर व्यक्ति बन्न सक्छ । मानवता के हो ? नजिकबाट बुझ्न जरुरी छ । साथै आफूले जानेको कुरा सिकाउन, आफूले सकेको सहयोग गर्ने यस्तै कुराहरूलाई आत्मसाथ गर्छन् मानवसेवा आश्रमको अवलोकन गर्ने व्यक्तिहरुले ।
मानवसेवा आश्रमबाट के सिक्ने ?
आमाको काखबाट मसानघाटको चितासम्म सिकाई नै सिकाई हुनेछ । हामीले चाहेको जीवन प्राप्तिमा हामी लागिरहनु पर्छ र प्राप्ति गर्नु पर्छ । आजको यो संसारमा सबै कुरा गुगलमा पाइन्छ भन्ने भ्रममा बाँचिरहेका हामीहरूले यथार्थमा जीवनको भोगाई सबैभन्दा ठूलो पाठशाला हुनेछ । जन्मदिने आमा बाबा, असल साथी र अनुभवहरू इन्टरनेटमा पाइँदैन । यो हाम्रो जीवनको कमाई हो ।
मानवताको पाठशालाको रूपमा विकास भइरहेको मानवसेवा आश्रमको भ्रमणपछि सिकाई गर्न सकिने विषय क्षेत्र ।
१) सेवाः मानवसेवा आश्रममा आउनु भएका जो–कोहीले यहाँको सेवालाई हृदयदेखि नै बोध गर्न सक्ने छ । यहाँ रहनू भएका सेवकसेविका, अभियन्ता परिवारले आफ्नो हृदयभावले गर्नु भएको सेवाले जीवनमा आएको आमूल परिवर्तनलाई मनन् गर्न सकिने छ । सेवा भनेको एक प्रकारको नसा हो, भावना हो, संस्कार हो । जसले मानवसेवा आश्रमको अवलोकन गर्छ उसले जीवनको नयाँ पाटोलाई देख्न पाउने छ । सक्ने अवस्था मा रहेका मात्र होइन दिसा र पिसाबमा लतपतिएको आमा बाबालाई कसरी सेवा गर्न सकिने रहेछ भन्ने बुझ्न सकिन्छ ।
२) प्रेम, करुणाः मानिस खानको भोको भन्दा पनि प्रेमको भोको छ । खाना नखाएर मानिस केही समय बाँच्न सक्छ होला तर प्रेम बिना कुनै पनि मानिस जीवित रहँदैन र जीवित भए पनि उ मरेतुल्य हुनेछ । किनकि प्रेम आशा हो, प्रेम सम्भावना हो, प्रेम ममताको रूप हो, प्रेम सहारा हो । मानवसेवा आश्रमले यही प्रेम जन–जनमा पु¥याउनका लागि प्रयत्न गरिरहेको छ । धन, सम्पत्ति, बल, समाजमा नाम, मान सम्मान हुँदासम्म सम्मान गर्ने, देखावटी प्रेम गर्ने बानी परेको समाजमा यहाँ आएपछि निस्वार्थ प्रेम देख्न पाइन्छ, महसुस गर्न पाइन्छ । प्रेमले मानिसलाई जित्न सकिने रहेछ । सडकमा रहँदा ४–५ जनाले समाउन नसक्ने आमा बाबा आश्रममा आउने बित्तिकै कति सरल अनि सहज हुनुहुन्छ त्यो देख्न सकिन्छ । यो सबै प्रेमको खेला हो ।
३) समाजसेवाः समाज सेवाको नमुना रूप देख्न पाइन्छ यहाँ । केही नभएका, केही नभएका, उनीहरुको सेवामा समर्पित भएर लागेको यो सेवा । कपाल, दारी पाकेपछि, सेवानिवृत्त भएपछि होइन समाज सेवाको कार्य युवावस्थामा नै गर्नु पर्छ भन्ने भावना जगाउँदछ । भर्खर २०–२१ लागेका युवाहरूले गरेको सेवाले समाजको परिवर्तनलाई नजिकबाट नियाल्न सकिनेछ । सेवाको सुरुवात कसरी गर्ने, कस्ता कस्ता बाधा–अड्चनहरू सेवाको क्रममा आउँछन् भन्ने कुरा यहाँ भ्रमण गरिरहँदा यहाँका अभियन्ताहरूले सुनाउनेछन् । सबैका आँखा रसाउने छन् ।
४) सङ्कल्प शक्तिः सपना पूरा गर्ने सङ्कल्प कसरी लिने, स्रोतको अभावमा होइन सोचको अभावले मानिस असफल हुन्छ भन्ने भावना यो सेवाले दिनेछ । नेपालीहरुको मात्र आर्थिक, नैतिक तथा भौतिक सहयोगले पनि गर्न सकिन्छ र भन्ने प्रश्नको उत्तर मानवसेवा आश्रमको सेवाले दिनेछ । आत्मबल र मनोबलको भरमा देशैभर रहेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त देशको परिकल्पना पुरा हुँदै गरेको छ । धेरै विकल्प नलिइकन सङ्कल्पलाई प्रथम स्थान दिने हो भने जस्तोसुकै सेवा पनि पूरा गर्न सकिन्छ । हात–खुट्टा नचल्ने बाबा आमा सङ्कल्प शक्तिका कारण, प्रार्थना र शुभ भावनाले ठिक हुनुभएको पाउनु हुनेछ ।
५) मानवताः यहाँको मूल सिकाई मानवता हुनेछ । गल्ती माथि गल्ती गर्नेलाई पनि प्रेम भावले हेर्न सक्नु, सबैजनालाई परिवारको सदस्यको रूपमा लिनु, अशक्तहरूले गर्नु भएको दिसा–पिसाबलाई पनि नघिनाई सफा गरिदिनु । सेवामा उद्दार गरेर ल्याएका अब सक्ने अवस्थामा रहनु भएकाले नसक्ने अवस्थामा रहनु हुनेलाई सेवा गर्नु । फोहोरको डङ्गुर रहेका, बाँधेर थुनेर रहेकालाई मानवोचित तवरबाट व्यवस्थापन गर्नु । संरक्षण, उपचार, पारिवारिक पुनर्मिलन गराउनु । न कुनै जात, धर्म, वर्ण वा राष्ट्रको परिधिबाट माथि उठेर सेवा गर्नु वास्तविक मानवीयता हो । यहाँको सन्देश मानवता नै धर्म हो र मानवताको कुनै सीमा हुँदैन ।
६) राष्ट्रप्रेमः जापान जापानी नागरिकले बनाए, चीन चिनियाँ नागरिकले बनाए, अमेरिका अमेरिकी नागरिकले बनाए । अब हाम्रो यो सुन्दर देशको पहिचान हामीले नै बनाउनु पर्छ । “हारहरूमा होइन जीवन जीतहरूमा फुलाउनु पर्छ । हामी बाँचेको सुन्दर कहानी भावी पुस्तालाई सुनाउनु पर्छ ।” मानवसेवा आश्रमले यही भावलाई जन–जनमा पु¥याइरहेको छ । हामीले गर्न सक्ने सेवाका लागि हामी विदेशको आसमा होइन हाम्रो बल बुतामा उभिन सक्नु पर्छ । त्यसका लागि पहिला मानवता, समृद्धिपछि मात्र राष्ट्रियता हुने गर्दछ । हामीले गरेका हरेक प्रयासले राष्ट्रियतालाई प्राथमिकता दिने गर्दछ । विदेशी दातृ निकायको सहयोग नलिइकन मात्र नेपालीहरुको प्रयासले देशभरको सेवा भइरहेको कुराले हाम्रो छाती गर्वले चौडा हुन्छ अनि सेवाका लागि नेपालमै सकिन्छ । हामी नै सक्षम छौं भन्ने उदाहरण बनेको छ ।
७) आमा, बाबा र परिवारको महत्वः यहाँ सकेसम्म परिवार नभएका व्यक्तिहरुको सेवा हुने गर्दछ । धेरै व्यक्तिलाई परिवारले हाम्रा लागि केही नगरेको, गर्न नसकेको, कर्तव्य पूरा नगरेको भावना व्यक्त गर्दछन् ।
धर्तीमै छ सबै चिज खोजे मिल्छ घरी घरी
तर जन्मदिने माता पिता पाइँदैन कसैगरी…
आफ्नो परिवारको महत्व बोध गराउने माध्यम हुन्छ, परिवारले हाम्रा लागि केही गरेन होइन कस्तो–कस्तो प्रयत्न गर्नु भएको छ त्यसको बोध हुन्छ ।
८) जीवनका भोगाईहरुः यहाँ कथै कथा छ, कहानी नै कहानी छ । जीवनका सुन्दर भोगाई नै भोगाई छ । आश्रममा रहनु भएका एक हजार छ सय जनाका आ–आफ्नै कहानी छन् । कोही सडकमा जन्मेका, कसैलाई सडकमा छोडेका, कत्तिले ५० औ दिनसम्म खाना नखाएका, कत्तिले आफ्नो उमेर छउन्जेलसम्म अर्काको घरमा काम गरी बसेर वृद्धावस्था भएपछि आश्रममा ल्याइदिएका, कतिका छोरा–छोरी अष्ट्रेलिया, अमेरिका रहेका छन् । जीवन संघर्ष र भोगाईहरु नै रहेछ । यहाँ जो कोहीले सुपर हिट कथा पाउने छ । जीवनी र कहानी पाउने छ । मात्र तपाई हाम्रो क्षमता हुनुप¥यो कथा निकाल्ने, मात्र क्षमता हुनुपर्यो भोगाईलाई सिकाइमा परिणत गर्ने ।
९) नेपालमा सहयोगापेक्षी सडक मानवहरुको अवस्थाः नेपालमा सडक मानवहरुको अवस्था यहाँ आउँदा देखाइने सन्दर्भ सामाग्री, श्रव्यदृश्यले सडक मानवहरुको वास्तविक अवस्था जानकारी हुनेछ । यसले जो कोहीलाई पनि प्रभावित पर्ने छ र आँखाबाट आँसु झर्ने छ । यस्ता मानिस जो मानिसको भेषमा जन्मेर मानिस भई बाँच्न नपाएकालाई सेवा गर्नुपर्ने प्रेरणा दिनेछ । निर्वस्त्र भएर पनि निर्लज्ज बनेमा निरीह ती आमा बाबाहरुको पीडालाई देख्नेछन् ।
१०) लक्ष्य प्राप्तिका लागि मानवसेवा आश्रमले गरेको प्रयास र समाजमा पारेको प्रभावः भोको पेटलाई भोजन सेवा सर्वोत्कृष्ट मानवसेवा, एक व्यक्ति एक अभिभावक, तपाईँको एक दिन मानवसेवा आश्रममा, वार्षिक भोजन सेवादाता, एक कप चिया योगदान जस्ता अनेकौँ अभियानको जन्म पाएको छ । मेची–महाकाली राष्ट्रिय उद्दार अभियानदेखि राष्ट्रिय नीति बनाउनका लागि प्रयास, गौरवका योजनाका लागि गरेका प्रयास धेरै छन् । यी प्रयासहरुको केही प्रतिफल प्राप्त भएको छ भने केही प्राप्तिको चरणमा रहेको छ । तपाईं राम्रो कामको सुरुवात गर्नुहोस् तपाईँलाई सहयोग गर्ने अनेक हातहरुको जन्म हुनेछ भने जस्तै अहिले सेवाका लागि अनेकानेक व्यक्ति जोडिनु भएको छ । जन्मदिनमा मानवसेवा आश्रम जाने संस्कार बसेको छ । हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, भावलाई प्रेरणा दिइरहेको छ ।
समग्रमा मानवसेवा आश्रम एक परोपकारी पाठशाला हो । यहाँ मानिसले अनेकौँ व्यवहारिक ज्ञान सिक्न पाउनेछन् । नदेखेको संसार देख्न पाउनेछन् । अनेकौँ सिनेमाका कहानी लेख्न पाउनेछन् । काज किरिया गरिसकेको व्यक्ति घरमा पुग्दा कस्तो अनुभूति हुन्छ ? दशकौं हराएको व्यक्ति घरमा आउँदा कस्तो भावना जागृत हुन्छ ? तपाईँले सडकमा रहनु भएको मनोरोगी बलात्कृत आमाको कथा सुन्नु भएको छ ? सायद छैन, हो यस्तै समाजका कहाली लाग्दा कहानीबाट बाँचेका आमा बाबाको कथा यो मानवताको पाठशालामा सिकाइनेछ, देखाइनेछ र महसुस गराइनेछ । जिन्दगी दुई दिने चोला हो । बाँचुन्जेल गरिने कर्म मात्र हाम्रो हो । सक्ने हामीले नै गर्नुपर्छ । भोलि होइन आज नै र अरूका लागि होइन आफ्नो लागि हो । महाकवि देवकोटाको यो मन्दिर, जिउँदा व्यक्तिको पूजा गर्ने ठाउँ हो, सेवा गर्ने ठाउँ हो । कतिले सोच्न नसक्ने सेवा मानवसेवा आश्रमले गरेको छ । महात्मा र परमात्माको अन्त्यमा आत्मा हुन्छ । आत्मा सबै बराबर यही एक आत्माले अर्को आत्मालाई सेवा दिने पवित्र परोपकारी पाठशाला हो मानवसेवा आश्रम ।
(तिमल्सिना मानवसेवा आश्रमको केन्द्रीय समिति कोषाध्यक्ष हुनुहुन्छ ।)