हेटौंडाः मकवानपुरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार ४ खेल सम्भव भएको छ भने दुई खेल वर्षाका कारण प्रभावित भएको छ । बिहिबार भएको ४ खेलमध्ये तीन खेलमा न्यू कम्वाइन क्लब, हाँडीखोला युथ क्लब र सहिद स्मृति क्लब विजयी भएको छ भने एफसी नामटार र पदमपोखरी युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा हटिया स्पोर्टस्लाई ३–० गोलले हराउँदै न्यू कम्वाइन विजयी भएको हो । न्यू कम्वाइनको जीतमा विशाल भोलनले दुई गोल गरे भने सुजल थिङले एक गोल गरे । म्यान अफ द म्याच न्यू कम्वाइनका विशाल भोलन घोषित भए । बिहिबार बिहानै हेटौँडा–११ स्थित सिमलटार मैदानमा पदमपोखरी युथ क्लब र एफसी नामटारबीचको खेलमा एक–एक गोलको बराबरी भएको छ । पदमपोखरीका लागि नवराज थिङ र एफसी नामटारका लागि कसाङ थिङले समान एक–एक गोल गरे । म्यान अफ द म्याच एफसी नामटारका कसाङ थिङ घोषित भए ।

बिहिबार दिउँसो गौरीटार रंगशालामा भएको पहिलो खेलमा प्रगतिशील युवा क्लबलाई २–० ले हराउँदै हाँडीखोला युथ क्लब विजयी भएको छ । हाँडीखोलाको जीतमा सञ्जिव गिरीले २ गोल गरे । म्यान अफ द म्याच हाँडीखोलाका सञ्जिव गिरी घोषित भए । बिहिबार दिउँसो सिमलटारमा भएको पहिलो खेलमा प्रतिभा युवा क्लबलाई २–० गोलले हराउँदै सहिद स्मृति विजयी भएको छ । सहिद स्मृतिको जीतमा बुद्ध लामाले २ गोल गरे । म्यान अफ द म्याच सहिद स्मृतिका रमेश थिङ घोषित भए ।

बिहिबार हुने भनिएको दुई खेल वर्षाका कारण प्रभावित भएको छ । गौरीटारमा हुने भनिएको एफसी पोताला र विजय युथ तथा सिमलटारमा हुने भनिएको एफसी चाइनाक्वार्टर र पशुपति युवा क्लब बीचको खेल वर्षाका कारण स्थगित भएको छ । स्थगित खेललाई शुक्रबार बिहान सञ्चालन गरिने जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाले बताउनुभयो ।

आज शुक्रबार सिमलटार खेल मैदानमा एफसी चाइनाक्वार्टर र पशुपति युवा क्लबबीचको खेल बिहान हुनेछ भने दिउँसो परेली युवा क्लब र हेटौँडा भेट्रान्स तथा हेटौँडा फुटबल एकेडेमी र महावीर क्लबबीचको खेल हुनेछ । यस्तै गौरिटार रंगशालामा आज शुक्रबार बिहान एफसी पोताला र एफसी विजय युथबीच खेल हुनेछ भने दिउँसो सक्षम युवा क्लब र एफसी इन्टरनेट तथा एफसी इन्टरनेट सिटी र न्यू डाँफे युवा क्लबबीच खेल हुने मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ ।