आजको विश्व समानताका लागि हरेक क्षेत्रमा आफ्ना अवसर र पहिचान बनाउनका लागि तल्लिन छ । यसबाट हरेक क्षेत्र, लिङ्ग, समुदाय, वर्ग, तह र तप्काका व्यक्तिहरुमा सूचित हुन नीति, कार्यक्रम, रणनीतिहरुमा समय सापेक्ष परिवर्तन (पुनर्निर्माण) भएका छन् । व्यवहारमा लागु पनि भइरहेको देखिन्छ । हरेक चुनौतिहरुलाई अवसरमा बदल्ने जमर्को हरेक वर्गका मानिसहरुले गरेका छन् । फलस्वरूप धेरैजसो मुलुक/देशहरुमा समावेशिताले प्राथमिकता पाएको देखिन्छ । तापनि अझै पनि कैयौं देश तथा समाजहरुमा देखाउनका लागि नीति, नियम कार्यक्रमहरु त भएका छन् भने व्यवहारमा प्रभावकारीरुपमा हुन सकेको देखिँदैन । विस्तारै महसुस गर्दै व्यवहारमा लागु होला ।

धेरै दशकको कोशिष, बहस र पैरवी पश्चात सार्वजनिक उच्च पदहरुमा समावेशिताको रंग हेर्न पाइएको छ, केहि गन्ध सुँघ्न पाइएको छ भन्दा अतिशयुक्ति नहोला । खासगरी घर–परिवारको हेरचाह र चुलाचौकामा मात्र सीमित नभई उत्पादनमूलक भूमिका र सामाजिक भूमिकामा महिलाहरुको सहभागिता बढ्दै जानु एउटा सभ्य समाजको द्योतक पनि हो । यसमा समाज, राष्ट्र अनि व्यक्तिको ठूलो भूमिका छ । सम्पूर्ण जनसंख्याको आधा वा सो भन्दा पनि बढी हिस्सा ओगट्ने महिलाहरु सामाजिक रुपान्तरणसँगै सार्वजनिक जिम्मेवारीमा संलग्न हुनु एउटा गौरवको विषय त हो नै साथै आर्थिक रुपान्तरण भई आत्मसम्मानमा उजागर भई सभ्य र समृद्ध समाज निर्माणमा योगदान पनि हो ।

यो सबै वस्तुगत स्थितिका वावजुद कार्यकारी पद (उच्च आहोदाका) मा रही नीति निर्माण गर्ने र त्यसको सही किसिमले लागु गराउने महिलाहरुका सामु विभिन्न चुनौतिहरु विद्यमान छन् । युनिभर्सिटी अफ ईल्लिनोइस स्प्रिङ्गफिल्डका कुलपति श्री सुसन कोक (Susan Koch) तथा सोही विश्वविद्यालयका विज्ञान प्रयोगशालाका निर्देशक श्री क्लारा नाहर्सटेड (lKara Naharstedt) का अनुसार उच्च तहमा कार्यरत वा जिम्मेवारीवहन गरेका महिलाहरुले निम्नानुसारका चुनौतीहरु खेपिरहेका हुन्छन् भनी औँल्याएका छन्, जस्तै, पुरुष तथा महिला फरक हुन् भन्ने सोचाईका कारण उच्च तहमा रहेका महिलाहरुप्रति हेर्ने दृष्टिकोणमा अझै पनि पुरुषहरुको तुलनामा महिला कार्यकारी (व्यवसायी) को संख्या कम छ, जसका कारण उनीहरुले आफ्नो भोगाई, सिकाई र अनुभवहरुलाई आफुले प्राप्त गरेको भूमिका अनुसार लागू गराउने क्रममा लैंगिक विभेदका कारण निक्कै कठिनाईहरु भोग्ने गरेका छन् । संख्या कम हुँदा निर्णायक विषयहरुमा सबैको साथ पाउन मुस्किल पारिएको हुन्छ ।

१. नेतृत्ववहन गर्दा गरिने अपेक्षा सम्बन्धी चुनौतिहरुः उच्च ओहोदामा भूमिका निर्वाह गर्ने नेतृत्वसँग सिंगो संस्थाले तथा संगठनले निम्न कुराहरुको अपेक्षा वा अनुभूति गरेका हुन्छन्, जस्तै स्पष्ट वक्ता, निर्भिक/बलियो (विचार राख्न सक्ने) शक्ति सम्पन्न (सबैलाई समेट्ने, शिघ्र निर्णय लिन सक्ने, खतरा मोल्न सक्ने) र प्रजातान्त्रिक तौरतरिका अपनाई सबैलाई सिकाउँदै अगाडि बढ्ने आदि । जब नेतृत्व तहमा महिलाहरु पुग्छन् तब संसारभरमा के गरिन्छ वा सोँचिन्छ भने उनीहरु भनेका सबैको रेखदेख गर्ने, आफ्ना परिधिमा मात्रै रमाउने वा महिलावादी सोच राख्ने, बढी अहंकारी, धेरै सुक्ष्मदर्शी (छिद्रानुयेषण गर्ने) र सक्रिय अथवा कम आक्रमक हुन्छन् भन्ने सोचाई छ । जब उनीहरु आफुले प्राप्त गरेको अनुभव, सिकाई र दृष्टिकोणबाट अगाडि बढेर निर्णय गर्ने सक्रियता देखाउने र नेतृत्व दिन नियमसंगत कार्य गर्न थालेको दिनमा उनीहरुप्रति नकारात्मक दृष्टिकोणले हेर्ने, व्यवहार गर्ने, गरिएका निर्णयहरूलाई पालना नगर्ने र सिंगो संगठनलाई अस्तव्यस्त बनाउने जस्ता कार्यहरु हुने गर्दछन् । हाम्रो जस्तो देशमा त यस्ता चुनौतिहरु उच्च तहका महिलाहरुले धेरै भोगेका छन् ।

२. काम र जीवनलाई सन्तुलन गरी अघि बढ्ने चुनौतिः उच्च तहमा कार्यकारी भूमिका निर्वाह गर्ने महिलाहरुले आफ्नो कार्य (काम) र व्यक्तिगत जीवनलाई सन्तुलित बनाउँदै अघि बढ्नु निक्कै चुनौतिपूर्ण छ । आजको दिनसम्म पनि उस्तै जिम्मेवारी पूरा गरेर घरमा आइसकेपछि गरिने पारिवारिक र सामाजिक भूमिकामा पुरुष भन्दा महिलाले धेरै सक्रियता देखाउनु पर्ने अवस्था छ । जसका कारण घरपरिवार, उत्पादनमूलक तथा सामाजिक जिम्मेवारीको (Triple Roles) बोझ महिलाहरुमा परेको छ । यो अलिअलि गर्दै घट्दै जाने क्रममा त छ तर धेरै रुपान्तरण हुन बाँकी छ ।

३. कोटा पूरा गर्नका लागि भन्ने सोचाई र दुव्र्यवहारहरुः उच्च पदीय जिम्मेवारी लिएका महिला कार्यकारी/व्यवसायीहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन बाँकी छ । अझै पनि केहि पदहरुमा महिलाहरुलाई रख्नैपर्ने भएकोले राखिएको प्रावधान गरिएको हो । खासै नेतृत्व त के गर्न सक्लान् र ? भन्ने मानसिकता भएका व्यक्तिहरुले महिला नेतृ (व्यावसायिक) हरुलाई निचो देखाउने, होच्याउने, कनिष्ठ महिला व्यवसायीहरुप्रति कम विश्वासको वातावरण सिर्जना गराइदिने, महिलाले महिलालाई नै अगाडि बढ्न दिँदैनन् भन्ने लान्छना लगाउने जस्ता आक्षेप पनि आउने गर्दछन् , साथै आफू कमजोर छ त्यहि भएर आफ्नो भन्दा कमजोरलाई साथ लिएर अगाडि बढ्छ, हेर त ! तिमी उ भन्दा बलियो र सक्रिय छौ नी ! खै त ? तिमीलाई अवसर दिएका आदि जस्ता बेकारका गफ गरी उकास्ने/उचाल्ने गर्दछन् र नेतृत्वप्रति अविश्वासको वातावरण पनि सिर्जना गराउने चुनौति पनि उच्च तहका महिला कार्यकारीहरुले खेप्नु परेको अध्ययन अनुसन्धानबाट देखिएको कुरा उक्त कुलपति तथा निर्देशकहरुले औल्याएका छन् । यस्ता चुनौतिहरुसँग कसरी सामना गर्ने र सफल हुने भनी कुलपति तथा निर्देशकहरुले निम्न उपायहरु औँल्याएका छन्,

– आफ्नो पदको मूल्य, मान्यताका सवल पक्ष, विशेषता तथा भूमिकालाई चिन (पहिचान गर–Acknowledge)ः उच्च पदको कार्यकारी भूमिकामा रहेका महिला कार्यकारी व्यवसायीहरुले आफ्नो शैक्षिक योग्यता, कार्यानुभव, क्षमता, कार्यकुशलता र प्राप्त पदको उपादेयता र प्रतिफल आदिका बारेमा पूर्णरुपमा सजक हुनु पर्दछ । यदि कुनै समयमा आफुले आत्मपरक भई केहि विचारहरु राखिएको र त्यसले अरु कसैलाई हानी नोक्सानी पुर्याएको रहेछ भने त्यसको खोजी, विश्लेषण गरी आत्मसात गर्दै आफुलाई रुपान्तरण गर्ने तर्फ लाग्नु पर्छ । साथै आफुलाई लगाइएको लान्छनाहरु गलत छन् भने त्यसलाई वैज्ञानिक ढंगले प्रतिकार गर्नु पर्दछ । सही के हो सभ्य ढंगले प्रस्तुत गर्नु पर्दछ । सकभर त्यस्ता विचारहरुलाई लिपीवद्ध गरी तयार गरी निर्धक्कले प्रस्तुत गर्नु पर्दछ ।

– विश्वासको वातावरण तयार गर, सही विचार, तर्क राख्नेहरु बीच समूह निर्माण गरः उच्च तहमा कार्यरत महिला कार्यकारीहरुको बारेमा विभिन्न नचाहिँदो कुराहरु काट्ने, अड्कलबाजी लगाउने, नकारात्मक गफहरु गर्ने, भड्काउने र अविश्वासको वातावरण सृजना भएका हुन सक्छन् । यस्तो अवस्थामा सबैसँग चिनजान, घुलमिल हुने, मेन्टरिंग गर्ने, प्रशंसा गर्ने, उनीहरुको कुरा सुन्ने, आफ्नो तटस्थ विचारहरु राख्ने; सही के हो, गलत के हो ? भन्ने बारेमा स्पष्ट पार्ने र सही कुराको बहस तथा पैरवी गर्ने संस्कृतिको विकास गर्नु जरुरी हुन्छ । जसले कार्यस्थलमा विश्वासको वातावरण निर्माण हुन्छ ।

– भावी पुस्ताको नेतृत्व विकास गर्ने कार्यको सुरुवात गरः कुलपति तथा निर्देशकद्वयले हरेक संस्था र संगठनहरुमा भावी नेतृत्वका लागि आजैदेखि कार्य सुरु गर भनी सुझाएका छन् । सर्वोपरिहितका उपलब्धि प्राप्त गरेका महिला व्यवसायीहरुको सार्वजनिक रुपमा पहिचान देउ; पुरस्कृत गर्नेदेखि “वर्ष महिला कर्मचारी/फ्याकलटी/कार्यकारी” भनी सार्वजनिकीकरण गर्ने वातावरणको सिर्जना गर भनी सुझाएका छन् ।

– तिमीप्रति दुव्र्यवहार भएको छ भने मुख खोलः कहिलेकाहीँ कार्यहरु गर्दा, कतै जाँदा, कोहीप्रति दुव्र्यवहार भएका छन् भने विश्वासिलो व्यक्ति, कार्यकारी, समुहमा धारणा राख्ने गर्नु पर्दछ र आफ्नो हुर्मत लिइरहेको; अविश्वासको वातावरण निर्माण गराइरहेका छन् भने त्यसको बारेमा वास्तविकता के हो भनी खोजी गर, विश्लेषण गर, स्पष्ट पार र विश्वस्त बनाउ भन्ने पनि कुलपति र निर्देशकद्वयहरुले सुझाएका छन् ।

समग्रमा कुलपति श्री सुसन कोक र निर्देशक क्लारा नाहर्सटेड द्वयले उच्चपदस्थ महिला कार्यकारी/व्यवसायीहरुले आफ्नो कार्यक्षेत्र र सामाजिक परिवेश अनुसार विभिन्न प्रकारका चुनौतिहरुको सामना गर्न परिरहेको र उक्त चुनौतिहरुलाई समयमै पहिचान गरी दुरदृष्टि राख्ने, आफ्नो सवल र निर्वल पक्षको विश्लेषण गर्ने, आत्मअनुशासन कायम गर्ने, सबैतिर नजर राख्ने, अध्ययन अनुसन्धान गर्ने, पृष्ठपोषण गर्ने, उपलब्धिमुलक र सकारात्मक सोच राख्ने, प्रजातान्त्रिक संस्कृतिको विकास, प्रबर्धन र सम्वर्धन गरी विश्वासको वातावरण बनाई सफल हुन सुझाएका छन् ।

साभारः–युनिभर्सिटी अफ ईल्लीनोइस उर्वाना– क्याम्पेन–सिकागो ,अमेरिका