हेटौँडाः बागमती प्रदेशको दुई जिल्लामा तीन जनाको मृत्यु भएको छ । शनिबार चितवनमा दुई तथा काभ्रेमा एक गरी तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शनिबार चितवनको कालिका नगरपालिका–८, गंगटेमा एक वृद्ध मृत भेटिएका छन् । बिहान ८ बजे कयर खोलामा ८४ वर्षीय सोम बहादुर मुडवरी मृत भेटिएको प्रहरीले जनाएको छ । वृद्ध आफ्नै घरदेखि १ किलोमिटर पूर्वमा पर्ने खोलामा मृत अवस्था रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको जनाएको छ ।
यस्तै शनिबार चितवनको भरतपुर महानगरपालिका–२६, आदर्श टोलमा एक पुरुष मृत भेटिएका छन् । बिहान १० बजेको समयमा ६३ वर्षीय शुक बहादुर महतो मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक तीन दिन अगाडिदेखि घरबाट बेपत्ता भएको बुझिएको प्रहरीले जनाएको छ । पुरुषको शव शनिबार दिउँसो १ बजेर ५० मिनेटको समयमा मुचुल्का पश्चात पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा लगिएको जनाएको छ ।
शनिबार काभ्रेको नमोबुद्ध नगरपालिका–२, काशिखण्डमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४७ वर्षीय चन्द्र बहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । सुतेको ठाउँबाट उठेर बाहिर निस्कने क्रममा श्रेष्ठ एक्कासी लडेर बेहोस भएका थिए । बेहोस भएका श्रेष्ठलाई छोराले तत्काल उपचारका लागि मेथिनकोट अस्पताल भकुण्डे लगेर सामान्य उपचार पश्चात थप उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।