हेटौंडाः रमनटार युवा क्लब र राक्सिराङ गाउँपालिकाको एफसी मेन्था मकवानपुरको मनहरी गाउँपालिकामा जारी जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार मनहरी–६ स्थित जोगिताल मैदानमा भएको सेमीफाइनल चरणको खेलमा रमनटारले आयोजक सयपत्री बी लाई ३–० गोलअन्तरले र एफसी मेन्थाले आयोजक सयपत्री ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
सेमीफाइनलबाट फाइनलको यात्रा पूरा गर्ने दुबै टिमले अब सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । रमनटारबाट क्याप्टेन रोमन श्रेष्ठले दुई गोल र राजन गोलले एक गोल गरे । म्यान अफ द म्याच दुइ गोलकर्ता श्रेष्ठ घोषित भएका छन् । सयपत्री ‘ए’ र एफसी मेन्थाबीचको निर्धारित खेल दुई–दुई गोलको बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । सयपत्रीबाट पाल्देन शेर्मा र पुल्साङ श्रेष्ठले समान एक–एक गोल गर्दै दुई गोल पूरा गरेका थिए । यस्तै मेन्थाबाट मिलन स्याङ्तान र कपिल मोक्तानले एक–एक गोल गरेका थिए ।
टाइब्रेकरमा दुबै पक्षबाट ५ जना खेलाडीले बल प्रहार गर्दा आयोजकको तर्फबाट ३ जना खेलाडीको प्रहारमात्र गोलमा परिणत भएको थियो भने मेन्थाबाट ५ जनाले खेलाडीले बल प्रहार गर्दा ४ जनाको प्रहार गोलमा परिणत भएको थियो । म्यान अफ द म्यान आयोजकका गोलरक्षक विक्रम गोल घोषित भएका छन् ।