हेटौँडाः नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तीनै तहको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै निर्वाचन समितिलाई निर्वाचनको मिति तय गरिएको जानकारी गराउनुभएको छ ।
यसअघि सदस्यता शुद्धीकरणमा विवादका कारण दुई पटक तय गरिएको महासंघको निर्वाचन सरेको थियो । महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महत्वपूर्ण उपलब्धि हासिल भएको अध्यक्ष पोख्रेलले दावी समेत गर्नुभएको छ । यो पटकको प्रयासबाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता तथा महासंघको शुद्धीकरणका लागि महत्वपूर्ण हुने विश्वास लिएको र शुद्धीकरणका क्रममा भएका त्रुटिहरू क्रमशः सच्याउनुपर्ने आवश्यकता समेत देखेको अध्यक्ष पोख्रेलले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
महासंघको नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आम पत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक भएको अध्यक्ष पोख्रेलको भनाई छ । उहाँले असोज ५ गते महासंघको सबै तहको निर्वाचन सफल बनाउन आग्रह गर्नुभएको छ ।