पत्रकार सम्मेलनमा आयोजक ।

हेटौँडाः हेटौँडामा तामाङ मौलिक गीत, संगीत र बाजाबारे जागरण ल्याउने उद्देश्यले लाइभ सेलो साँझ आयोजना गरिने भएको छ । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिले कार्यक्रमबारे जानकारी गराएको हो ।

मकवानपुरमा पहिलो पटक टुङ्गना र डम्फु प्रशिक्षणमा सहयोग पुर्याउनुका साथै ‘एक तामाङ घर, एक डम्फु’ भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक विक्रम लुङ्बाले बताउनुभयो । मकवानपुरे गायक प्रकाश लामा तितुङ र गायिका सुमिना लोले लाइभ सेलो साँझमा प्रस्तुति दिनुहुने संयोजक लुङ्बाले बताउनुभयो । अहिले टुङ्गना र डम्फु बजाउन धेरैलाई नआउने अवस्थालाई मध्यनजर गर्दै उक्त बाजाहरु बजाउन प्रशिक्षण दिन लागेको उहाँले बताउनुभयो ।

कार्यक्रमले तामाङ समुदायको संस्कार, संस्कृति, कला, भेषभुषा तथा भाषाको संरक्षणमा मद्दत पुग्नुका साथै तामाङ कलाकारहरुलाई प्रोत्साहन हुने उहाँको भनाई छ । कार्यक्रम आगामी असोज १९ गते हेटौँडा–२ स्थित पल्पसा सभाहलमा आयोजना हुनेछ । कार्यक्रममा तामाङ घेदुङ संघ मकवानपुरका उपाध्यक्ष आत्माराम मोक्तान, सचिव किरण बल, सल्लाहकार सानु लामा दोङ, गायक प्रकाश तितुङ र कलाकार हेम कुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।