हेटौँडाः साहित्य संगम मकवानपुरले ३४६औं नियमित साहित्य सन्ध्याको अवसरमा तुल्सी थापालाई स्मरण गरिएको छ । गत वर्ष भदौ ८ गते थापाको निधन भएको थियो ।
शनिबार सिस्नुपानी–साहित्य संगमको सभाकक्षमा आयोजित कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले तुल्सी थापाको व्यक्तित्व र योगदानका बारेमा चर्चा गर्नुभएको थियो । तुल्सी थापाको व्यक्तित्व, शिक्षा क्षेत्र र चेपाङ समुदायमा पु¥याउनु भएको योगदानसँगै साहित्यिक जीवनको बारेमा निमेष निखिलले चर्चा गर्नुभयो । नाटक, कथा, कविता र अनुवादको क्षेत्रमा थापाले पु¥याउनु भएको योगदानका बारेमा व्याख्या गर्नुहुँदै निमेष निखिलले भन्नुभयो, “तुल्सी थापाले दाना कवितालाई नयाँ विधाको रुपमा स्थापित गर्नुभयो ।”
तुल्सी थापाले अनुवादको क्षेत्रमा पु¥याउनु भएको योगदानको कमै चर्चा हुने गरेको निखिलले बताउनुभयो । थोरै तर गुणात्मक लेखन, मौलिक लेखनबाट तुल्सी सर चिनिनु हुने निखिलले स्पष्ट पार्नुभयो । तुल्सी थापाका दाना कवितालाई विकास र विस्तार गर्न सके उहाँप्रति सच्चा सम्मान हुने निखिलको दावी थियो । कार्यक्रममा तुल्सी थापाकी बहिनी बेली थापाको पनि उपस्थिति रहेको थियो ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नियमित सन्ध्याकै अवसरमा संगमले स्थापना गरेको अक्षयकोषमा पाँच हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने २८ जनालाई सम्मान गरिएको थियो । संगमले स्थापना गरेको अक्षयकोषमा छ लाख ५० हजार रुपैयाँ संकलन भएको अध्यक्ष बर्तौलाले जानकारी दिनुभएको छ । नियमित सन्ध्यामा रचना वाचन गर्नुहुने साहित्यकारहरुले तुल्सी थापाप्रति नै समर्पण व्यक्त गरेका थिए ।