बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेशका सांसदहरुको चासोमा संसदीय समितिको विषयहरु पर्न सकेको छैन । सांसदहरुको चासो कम पर्दा संसदीय समितिको बैठक राख्न संसद सचिवालयलाई हम्मेहम्मे नै परेको देखिन्छ ।

समितिका बैठक सञ्चालन हुन नसक्दा प्रदेशसभा बैठक नै प्रभावित भएको छ । समितिले बाँकी विधेयकहरुको छलफल सकेर प्रतिवेदन पेश गरेको खण्डमा प्रदेशसभा बैठक सञ्चालनको बाटो खुल्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । तर, सो विषयमा सांसदहरुले गम्भिरताका साथ नलिँदा समस्या भएको सचिवालयको भनाइ छ ।प्रदेशसभामा रहेका प्रदेश मामिला समिति, विशेषाधिकार समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति, उद्योग, पर्यटन तथा वातावरण समितिमा गत असारमा सभापतिहरुको निर्वाचन भएको थियो । सोपश्चात् समितिको सक्रियता केही बढे पनि पर्याप्त मात्रामा अघि बढ्न सकेको छैन ।

संसदलाई चलायमान र क्रियाशील बनाउने, सार्वभौमिकताको प्रयोग गर्ने वैधानिक एवम् विशिष्टीकृत इकाई संसदीय समिति हुन् । संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’ पनि भनिन्छ । संसदीय समितिले संसदको अधिकार प्रयोग गर्दै निर्वाचन क्षेत्रको प्रतिनिधित्व, कानुन निर्माण र निगरानीजस्ता क्रियाकलापहरु गर्दछन् । सार्वजनिक स्रोत साधनको सदुपयोग र सुशासन, जवाफदेहिता र राज्यको प्रभावकारिता बढाउने प्रमुख उद्देश्यसहित समितिले वर्कसपका रुपमा काम गर्ने गर्दछ । तर, बागमती प्रदेशसभाका सांसदहरुलाई संसदीय समितिका बारेमा चासो नपर्दा समितिको बैठक नै बस्न सकेको छैन ।

गत साउन १५ मा मुख्यमन्त्री बहादुरसिंह लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि आह्वान भएको प्रदेशसभा बैठकको मौका पारेर ६ मध्ये २ वटा संसदीय समितिको बैठक बसेको थियो । त्यसयता कुनै पनि संसदीय समितिको बैठक बस्न सकेको छैन ।बैठक राख्न प्रदेशसभा सचिवालय र संसदीय समितिका सचिवहरुले पहल गरे पनि सांसदहरुले चासो नदिँदा समस्या भएको हो । विषेशगरी सांसदहरुले प्रदेशसभा बैठककै छेकोमा संसदीय समिति बैठक माग गर्ने गरेको प्रदेशसभाका एक कर्मचारीको भनाइ छ । संसदीय समितिको बैठकबारे सांसदहरुले अनुकूलता बुझ्न सम्पर्क गर्ने क्रममा उनीहरुबाट संसद बैठक आह्वान भएको आसपास समितिको बैठक राख्न माग गर्ने गरेको ती कर्मचारीले जानकारी दिनुभयो । उहाँका अनुसार संसदलाई क्रियाशील बनाउने, निर्देशित गर्ने थलोमा नै सांसदहरुको चासो पर्न नसक्दा समस्या भएको हो ।

सरकारले संसदलाई नयाँ विजनेश नदिएका बखत समितिले सक्रियता देखाएर काम गर्नुपर्ने भए पनि सो विषयमा सांसदहरुले ध्यान दिन नसकेको उहाँको भनाइ छ । सरकारले पठाएका विधेयकहरुमाथि छलफल गरेर प्रतिवेदन तयार गरी पुनः संसदमा पेश गर्नुपर्ने भए पनि समितिको बैठक बस्न नसक्दा काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।‘अहिले संसदमा नयाँ विधेयक आएको छैन । त्यसो हुँदा संसद बैठक बस्ने अवस्था पनि छैन । तर, संसदलाई सक्रिय र निर्देशित गर्ने थलो समितिहरु हुन् । समितिको बैठक बसेर सरकार र संसदलाई निर्देशन गर्नसक्ने अधिकार छ’, उहाँले भन्नुभयो, ‘केही विधेयकहरु पनि छलफलको क्रममा रहेका छन् । त्यसको प्रतिवेदन पनि तयार गरेर संसदमा पठाउनुपर्ने हुन्छ । सो विषयमा समितिको बैठक बस्नु नै पर्छ । तर, अधिकांश सांसदहरु संसद आह्वान भएकै बखत आसपासमा समितिको बैठक राख्न माग गर्नुहुन्छ ।’आगामी भदौ ९ गते समितिको बैठक राख्ने तयारी सचिवालयले गरेको भए पनि अधिकांश सांसदले नराख्न सुझाव गरेको उहाँले बताउनुभयो ।

१० गते कृष्ण जन्माष्टमी, ११ गते भीमसेन जात्रा रहेकाले उपत्यकाका अधिकांश सांसदहरु उपस्थित नहुने भएपछि समितिको बैठक राख्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । समितिको बैठक राख्ने विषयमा समितिका सभापतिले नै संसद बैठक कुर्न आग्रह गरेको प्रदेशसभा सचिवालयका अर्का कर्मचारीले बताउनुभयो । सभापति नै सकारात्मक नभएपछि सचिवालय र सभामुखले मात्र बल गरे बैठक बस्न सक्ने अवस्था नरहने उहाँको भनाइ छ । बैठक आह्वान भए पनि गणपूरक संख्या पुर्‍याउन नै समस्या हुने उहाँले बताउनुभयो । उहाँका अनुसार समितिमा रहेका कामहरु सकेर नयाँ ढंगबाट अघि बढ्ने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको तयारी रहेको र सोहीअनुसार भदौ १२ पछि बैठक राख्ने तयारीमा सचिवालय पुगेको छ ।

सभापतिहरुलाई सकारात्मक बनाउने र गणपूरक संख्या पु¥याएर बैठक सञ्चालनको तयारी रहेको उहाँको भनाइ छ ।‘संसदीय समितिको काम, कर्तव्य र अधिकार तथा महत्वका विषयमा सांसदहरु गम्भिर हुन सकेका छैनन्’, ती कर्मचारीले भन्नुभयो, ‘यस अवधिका बैठकमा उपस्थित हुन नसक्ने भन्दै प्रदेशसभाका १० जना सांसदहरुले बिदाका लागि प्रदेशसभा बैठकमा निवेदन नै दर्ता गराएका छन् भने विधेयक नभएको तथा विपद् तथा निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम रहेकाले बैठकमा उपस्थित हुन समस्या देखाउने गरेका छन् । ’प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार अहिलेको अवस्थामा संसदीय समितिको बैठक बस्न जरुरी छ ।

भदौ १७ पछि संसद बैठक बस्ने अवस्था न्यून रहेको र असोजमा चाडपर्व र अधिवेशन अन्त्यको चरणमा रहने उहाँले बताउनुभयो । संसदमा नयाँ विधेयक नभएको अवस्थामा पुराना विधेयकका विषयमा छलफल गरेर टुंग्याउनुपर्ने उहाँले बताउनुभयो । भदौ १५ भित्र समितिका सबै काम सकेर संसद बैठक राख्न सके राम्रो हुने उहाँको भनाइ छ । सो विषयमा सभामुखसँग पनि छलफल भएको र समितिका सचिवहरुलाई निर्देशन गरेको उहाँले बताउनुभयो ।‘अहिले समितिका बैठकहरु सञ्चालन गरेर वार्षिक कार्ययोजना निर्माण, अध्ययन, अनुगमन, भ्रमण तथा नयाँ विषयमा सरकारलाई निर्देशित गर्न छलफल गर्नुपर्ने हो’, सचिव खड्काले भन्नुभयो– ‘यसले संसदीय समितिलाई गतिशीलता प्रदान गर्छ । सोहीअनुसार सचिवालय अघि बढेको छ ।’