वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल देविना सञ्जेललाई पुरस्कृत गरिँदै ।

हेटौंडाः श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल ‘मुलमिलावा धाम’ हेटौंडा उपमहानगरपालिका–६, गौरीटारको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा देविना सञ्जेल प्रथम हुनुभएको छ । शुक्रबार मुलमिलावा धाममा भएको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा बालजागृति इङ्गलिस सेकेण्डरी स्कूलकी सञ्जेल प्रथम हुनुभएको परिषद्का अध्यक्ष प्रदीप बास्तोलाले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी १४ जना प्रतियोगीमध्ये हेटौंडा–७ स्थित तासिर इङ्गलिस सेकेण्डरी बोर्डिङकी सिमोन भट्टराई द्वितीय हुनुभएको छ भने हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माध्यमिक विद्यालयकी युना महत तृतीय हुनुभएको छ । परिषद्ले प्रातियोगितामा सहभागी सबै विद्यार्थीलाई १६ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री र प्रमाणपत्र प्रदान गरेको बास्तोलाले बताउनुभयो ।
परिषद्का जिल्ला अध्यक्ष सुजन तिमल्सिनाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अध्यक्ष बास्तोलाको सभाध्यक्षता रहेको थियो । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल ‘मुलमिलावा धाम’ हेटौंडा उपमहानगरपालिका–६, गौरीटारले विविध कार्यक्रमको आयोजना गर्दै सप्ताहव्यापीरुपमा कृष्ण प्राकट्य उत्सव २०८१ मनाइरहेको छ । परिषद्ले भदौ ४ गते मंगलबारदेखि १० गते सोमबारसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

परिषद्ले आज शनिबार गौरीटार मुलमिलावा धाममा स्वास्थ्य शिविर र स्लो बाइक रेसको आयोजना गरेको छ । आइतबार मन्दिर सरसफाई कार्यक्रमको आयोजना गरेको छ भने अन्तिम दिन सोमबार जन्माष्टमी भव्यरुपले मनाउने भएको छ । बास्तोलाका अनुसार परिषद्ले सप्ताहव्यापी कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।