हेटौंडाः ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) मकवानपुर शाखाले भूटनदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई रक्तदानसम्बन्धी उत्प्रेरणा प्रदान गरेको छ । ब्लोदानले बुधबार विद्यार्थीहरुलाई रक्तदानसम्बन्धी जनचेतना जगाउन उत्प्रेरणा कार्यक्रम आयोजना गरेको हो ।
एक दिने कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष इन्जिनियर सानुबाबु प्रजापति र वरिष्ठ कन्सल्टेण्ट डा. मनिता श्रेष्ठ राजकर्णिकारले रक्तदानसम्बन्धी जानकारी दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई रक्तदानको प्रक्रिया, तरिका, विशेषता, आवश्यकता, रक्तदान गर्ने तथा नगर्ने अवस्थालगायतका बारेमा जानकारी दिइएको थियो । रक्तदान गरेको व्यक्तिले पुनःरक्तदान गर्न कम्तिमा ३ महिना कुर्नु पर्दछ । मानव शरीरबाट ३ महिनामा नष्ट हुने रगतलाई दान गरेमा अरु व्यक्तिलाई सहयोग हुने प्रजापतिले बताउनुभयो । रक्तदान गरेमा आत्मसन्तुष्टि प्राप्त हुने उहाँको भनाइ छ ।
रातो कोशिका रक्तहरुलाई ४२ दिन र सम्पूर्ण रक्त कोशिकाहरूलाई स्टोर गरेर राखिने डा. श्रेष्ठले बताउनुभयो । ठूलो रगत हानि भएको अवस्था, शल्यक्रिया गर्नुअघि, शल्यक्रियाको समयमा, शल्यक्रिया पछि र प्रसवको अवस्था, गम्भीर रक्तअल्पताबाट पीडित बिरामीहरूलाई रगतको आवश्यकता पर्दछ । प्लेटलेट्स, प्लाज्म र कारकहरूको कमी भएको अवस्था, एनिमिया, थैलासेमिया, हेमोफिलियाबाट पीडित बिरामीहरू, ल्युकेमिया र रक्त विकार भएको अवस्थामा रगत आवश्यक पर्दछ । क्यान्सर रोगीहरूलाई रक्तक्षेपण आवश्यक हुनसक्ने अवस्था तथा रगत विकारसँग नवजात शिशुको अवस्थामा रगत आवश्यक पर्दछ ।
ब्लोदानले नियमितरुपमा रक्तदान गर्ने स्वयम्सेवी रक्तदाताहरुलाई प्रत्येक वर्ष राष्ट्रिय रक्तदाता दिवस तथा विश्व रक्तदाता दिवसमा सम्मान गर्ने गरेको ब्लोदानका अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो । ब्लोदानले विशेष कार्यक्रम गरेर रक्तदाताहरुलाई कदरपत्र तथा विशेष डोनर पीनबाट सम्मान गर्दै आएको उहाँको भनाइ छ । महिनावारी भएको ८ दिनसम्म, सुत्केरी भएको अवस्था तथा स्तनपान गराइरहेको अवस्था, एचआईभी तथा हेपाटाइटिसलगायत रगतसम्बन्धी रोग लागेको अवस्था र औषधी सेवन गरिरहेको अवस्थामा रक्तदान गर्न मिल्दैन । गर्भपतन गरेको अवस्थामा ६ महिनासम्म रक्तदान गर्न मिल्दैन ।
यसैगरी, टाइफाइड भएमा निको भएको १ वर्षसम्म, टाटु खोपेको तथा अकुपञ्चर गरेको १ वर्षसम्म, रेविजविरुद्ध खोप लिएको १ वर्षसम्म, हेपाटाइटिस बी र सी देखिएकाहरुमा निको भएको १ वर्षसम्म, क्षयरोग भएका व्यक्तिको अवस्थामा उपचार पूरा भएको १ वर्षसम्म, कोरोनाविरुद्ध खोप लिएको १४ दिनसम्म रक्तदान गर्न नमिल्ने बताइएको छ । शिशुलाई स्तनपान गराइरहेको आमाहरुले १ वर्षसम्म, सानो शल्यक्रिया गरेको ३ महिना तथा ठूलो शल्यक्रिया गरेको १ वर्षसम्म र छारेरोग भएको व्यक्तिहरु निको भएको ३ महिनासम्म रक्तदान गर्न नमिल्ने बताइएको छ ।
रक्तदान गर्न इच्छुक व्यक्ति १८ देखि ६५ वर्ष उमेरसम्मको हुनुपर्छ भने शरीरको तौल कम्तिमा ४५ केजी हुनुपर्दछ । व्यक्तिको हेमोग्लोबिन १२.५ ग्राम प्रतिशत तथा सोभन्दा माथि भएको हुनुपर्छ । रक्तदान गर्ने व्यक्तिको रक्तचाप मुनिको ७० देखि ९० सम्म र माथिको ११० देखि १४० सम्म भएको हुनुपर्ने बताइएको छ । नेपालमा एक सय ८ वटा रक्तसञ्चार केन्द्र रहेको छ ।