रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको सुरुवात गरिँदै । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा मिसन–८४ क्लबले विजयी सुरुवात गरेको छ । बिहीबार गाउँपालिकाको जोगीताल खेलमैदानमा भएको खेलमा मिसन–८४ ले विजयुन एफसीलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

मिसन–८४ को जीतमा पहिलो हाफमा पेनाल्टीमार्फत् विकल्प उप्रेतीले एक गोल गरे का छन् । दोस्रो हाफको १२ औं मिनेटमा अपिल रेग्मीले थप एक गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । म्यान अफ द म्याच राजन पाण्डे घोषित भए । यस्तै, बिहीबार भएको दोस्रो खेलमा चितवन जिल्लाको भरतपुर महानगरपालिकालाई हराउँदै मनहरी गाउँपालिकाको लामिटार विजयी भएको छ । भरतपुरलाई २–१ गोलले हराउँदै लामिटारले विजयी सुरुवात गरेको हो ।

लामिटारबाट विशाल प्रजा र शिव राईले समान एक–एक गोल गरे । यता भरतपुरबाट राजेश पौडेलले मात्र गोल फर्काउन सफल भए । म्यान अफ द म्याच प्रजा घोषित भए । सयपत्री युवा क्लबको आयोजनामा गाउँपालिका वडा नम्बर–६ स्थित जोगीताल खेलमैदानमा सुरु भएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भदौ १७ गते हुनेछ ।

२०७२ सालको भूकम्पमा परेर निधन भएका जोन राना मगरको स्मृतिमा क्लबले यस वर्षबाट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन स्वर्गीय जोनका दाजु जकै राना मगरले गर्नुभएको छ भने द्वितीय पुरस्कारको प्रायोजन सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताइएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।