हेटौँडाः हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविले स्थापना गरेको नवोदय इनोभेसन सेन्टरले सञ्चालन गर्ने १ वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रमका सहभागीहरूलाई अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा शिक्षक तालिमको उद्देश्य, आवश्यकता र प्रभाव बारे प्रस्तुति दिनुहुँदै नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनालले भन्नुभयो, “हेटौँडालाई शैक्षिक हब बनाउने सपना बोकेर अघि बढिरहेका छौँ । यस यात्रामा शैक्षिक रूपान्तरण हाम्रो लक्ष्य हो ।’ उहाँले विद्यालयका लागि आवश्यक सक्षम शिक्षक उपलब्ध गराउनका लागि एक वर्ष अवधिको तालिम कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
१ वर्ष अवधिको डिप्लोमा कोर्स संयोजक रमिता दर्लामीले तालिम प्रशिक्षकहरूको परिचय गराउनुभयो । उहाँले शिक्षण पेशालाई मर्यादित पेशाको रूपमा स्थापित गराउने प्रयास भइरहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरूलाई सहजीकरण गर्नुहुँदै तालिम प्रमुख नरेन्द्रकुमार नगरकोटीले शैक्षिक क्रान्तिको यात्रामा रहेको दावी गर्नुभयो । सहभागीहरूको अनुरोधबमोजिम यही साउन २२ गतेबाट नियमित रूपमा तालिम सञ्चालन हुने बताइएको छ ।