फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले पहिलो त्रैमासिक परीक्षा भदौ ६ गतेबाट सञ्चालन गर्ने भएको छ । परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका गाउँपालिकाले नै उपलब्ध गराउने भएकाले परीक्षा भदौमा राखिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

परीक्षा शैक्षिक शैक्षिक क्यालेण्डरअनुसार हुने भएको उहाँले जानकारी दिनुभयो । गत वर्षदेखि गाउँपालिकाले नै परीक्षा सञ्चालन गर्दै आएकाले परीक्षा भदौमा गर्न लागिएको हो । गाउँपालिकाले तीनवटा विद्यालयमा ८, ९ र १० का विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख अधिकारीका अनुसार गाउँपालिकाले खाजा र खानाको व्यवस्थासहित विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेको हो ।

गाउँपालिकामा ६ वटा मावि, ४२ वटा आधारभूत विद्यालय छन् । आधारभूतमध्ये ४ वटा विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुने गरेको छ । गाउँपालिकाका विद्यालयमा हाल ५ हजार ३ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष ५ सय जना विद्यार्थी घटेका छन् । विद्यार्थी घट्नुको प्रमुख कारण बसाइँसराइ रहेको उहाँले जानकारी दिनुभयो । राम्रो शिक्षाका लागि अभिभावकहरु बसाइँ सरेर सहरी क्षेत्रमा जाने र निजी विद्यालयमा पठनपाठन गराउने भएकाले विद्यार्थी संख्या वर्षेनि घट्दै गएको उहाँको भनाइ छ ।