हेटौँडाः माओवादी केन्द्रले मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । माओवादी प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने र रचनात्मक रुपमा सरकारलाई खबरदारी गर्ने माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज दुलाल ‘शरद’ले बताउनुभएको छ ।
उहाँले सत्ता समीकरण निर्माणमा माओवादीलाई झुक्याएको बताउनुभयो । उहाँका अनुसार माओवादीको नेतृत्वमा घोटाला र भ्रष्टाचार विरुद्धमा रहेको छ । माओवादीले भ्रष्टाचारको फाइल उठाउँदा अमुक व्यवसायीको घरमा सत्ता समीकरणको सहमति बनेको उहाँले बताउनुभयो । क्यालेण्डर अनुसार संविधान संशोधन नहुने उहाँको भनाइ छ । संविधानमा रहेको सकारात्मक विभेदलाई नियन्त्रण गर्न र प्राप्त अधिकार मास्न अहिलेको गठबन्धन बनेको उहाँले आरोप लगाउनुभयो । एमाले–काँग्रेस गठबन्धनको सरकारको औचित्य पुष्टि हुन नसक्ने प्रदेश सभा सदस्य दुलालले दावी गर्नुभएको छ ।
‘विहानीले दिनको झल्को दिन्छ । सुशासन र पद्दतीको सुरुवात हुनेछ । तर, आज नियुक्त गरेका मन्त्री सपथ नगरी सभाहलमा बसिरहनु भएको छ । कति जना मन्त्री हुने हो ?’ उहाँले भन्नुभयो, ‘बहुमत अंक गणितमा होइन । गणित स्थायित्व होइन । स्थायित्व विचार हो । अहिलेको गणितमा बनेको समीकरण र बहुमत माथि शंका छ । माओवादी विचारमा सशक्त छ । माओवादीको नेतृत्वमा देश र जनतालाई हानी हुने काम भएको छैन ।’
सत्तापक्षमा नै राजनीतिक स्थायित्वका विषयमा बुझाइ फरक भएको देखिएको उहाँको भनाई छ । कांग्रेसले ठूलो दलहरुको समीकरण राजनीतिक स्थायित्वका लागि भनिरहेको र एमालेले लोकतन्त्रको अभ्यास सरकार र प्रतिपक्ष हुने स्वभाविक पक्ष भएको भनिरहेको उहाँले बताउनुभयो ।