मनहरीः मकवानपुरको मनहरी गाउँपालिकामा भएको पहिलो संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताको उपाधि हासु एफसी मनहरीले हात पारेको छ । सिम्पानी युथ क्लबको आयोजनामा गाउँपालिका वडा–८ सिम्पानी मैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा कैलाश एफसीलाई ३–० गोलअन्तरले सहजै पराजित गर्दै हासु एफसी मनहरीले उपाधि हात पारेको हो ।
हासु एफसीको जीतमा पहिलो हाफको २३ औं मिनेटमा एक गोल गर्दै विदेशी खेलाडी ग्लोरीले पहिलो अग्रता दिलाएका थिए । दोस्रो हाफको १४ औं मिनेटमा एक गोल गर्दै मोहित गुरुङले खेल २–० को स्थितिमा पुर्याए । दोस्रो हाफकै २३ औं मिनेटमा पुनः एक गोल गर्दै विदेशी खेलाडी ग्लोरीले टिमलाई जित दिलाउन सफल भएका थिए । म्यान अफ द म्याच हासुको तर्फबाट जीत थापा मगर घोषित भएका छन् ।
प्रतियोगिताको उपाधि विजेता हासुले एक लाख रुपैयाँ र उपविजेता कैलाशले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै आयोजक सिम्पानी युथ क्लबका खेलाडी राहुल थापा मगरले ७ हजार रुपैयाँ प्राप्त गरेका छन् भने उनलाई सानिमा लाइफ इन्सुरेन्सले ५ वर्षसम्मका लागि ५ लाख रुपैयाँ बराबरको जीवन बीमा गरिदिएको छ । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हासुका बाबुराम चौधरी, उत्कृष्ट डिफेन्डर हासुकै छिरिङ लामा, मिडफिल्डर हासुकै राज थापा मगर र सर्वाधिक गोलकर्ता कैलाशका अनिश चौधरी घोषित भएका छन् । उनीहरुले जनही ५ हजार रुपैयाँसहित ट्रफि प्रदान गरिएको छ ।
सिम्पानी युथ क्लबका अध्यक्ष किरण सुवेदीले प्रतियोगिता सञ्चालनको क्रममा सहयोग गर्ने सम्पूर्ण अग्रज व्यक्तित्वहरुमा धन्यवाद व्यक्त गर्नुहुँदै उपाधि विजेता र उपविजेता टिमलाई शुभकामना व्यक्त गर्नुभयो । पालिकाका अध्यक्ष कालाखेतीले पालिकामा प्रतियोगिताको आयोजना गरेको कारणले दर्शकहरुको उत्साह बढ्न पुगेको बताउनुभयो । उहाँले राष्ट्रियता र स्वास्थ्यका लागि खेलकुद भन्न नारालाई सार्थक बनाएर प्रतियोगिताको आयोजना गरेको कारणले खेलाडीहरुमा हौसला प्रदान भएको बताउनुभयो । पालिकादेखि नै प्रतियोगिताको आयोजना गरेमा खेलाडीहरु जिल्लाबाट प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने धारणा राख्नुभयो ।
प्रतियोगिताको समापन कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा वीर बहादुर घलान ज्वाला, मनहरी खेलकुदका अध्यक्ष विरु लामा थिङ, बकैया गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । स्कुटर दुर्घटनामा निधन भएका गाउँपालिकाको पूर्वफुटबल खेलाडी मिलन धर्मराजको स्मृतिमा प्रतियोगिताको आयोजना गरेको क्लबका खेल संयोजक प्रकाश थिङले बताउनुभयो । यस्तै प्रतियोगिताको समापनको अवसरमा राष्ट्रिय रेफ्रि कल्पना शर्मालाई सम्मान गरिएको छ । सिम्पानी क्लबले महिला रेफ्रिको भूमिका निर्वाह गरेर फुटबल खेलमा दिएको योग्दानको कदर गर्दै उहाँलाई सम्मानपत्र प्रदान गरिएको छ ।