इन्टरनेट सिटी हेटौंडा ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको मिलन–धर्मराज स्मृृति फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विजयी हुँदै इन्टरनेट सिटी हेटौंडा सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार गाउँपालिकाको सिमपानी खेल मैदानमा भएको पहिलो क्वार्टरफाइनल खेलमा भोर्लाघारी टोल विकास संस्था कालिकालाई ३–१ गोल अन्तरले हराउँदै इन्टरनेट सिटी सेमिफाइनलमा प्रवेश गरेको खेल संयोजक प्रकाश थिङले जानकारी दिनुभएको छ ।

इन्टरनेटको तर्फबाट अञ्जन बछारले दुई गोल र सुजन बोम्जनले एक गोल गरेको संयोजक थिङले बताउनुभयो । भोर्लाघारीको तर्फबाट आयुष गोरुङले मात्र गोल गर्न सफल भएको उहाँले बताउनुभयो । खेलको म्यान अफ द म्याच दुई गोलकर्ता बछार घोषित भएका छन् । आज बुधबारको क्वार्टरफाइनल खेलमा कैलाश गाउँपालिका र बागमती प्रदेश प्रहरी गण हेटौंडाबीच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । मंगलबारको विजेता इन्टरनेटले हासु एफसी र इन्द्रकमल युथ क्लबबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल असार ३१ गते हुनेछ । प्रतियोगिताका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भएको बताइएको छ ।