हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । सोमबार भएको गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट पारित भएको उपाध्यक्ष सञ्जीव श्रेष्ठले बताउनुभयो ।

भीमफेदीले आगामी आर्थिक वर्षका लागि ७४ करोड ३६ लाख रुपैयाँको बजेट ल्याएको थियो । पालिकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ४४ करोड ६२ लाख रुपैयाँ र पुँजीगततर्फ २९ करोड ७४ लाख रुपैयाँ बजेट ल्याएको छ । पालिकाले पालिकाभित्रका वडाहरुलाई ५०–५० लाख बजेट सिलिङ तोकेको छ । पालिकाले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोष कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई जोड्नका लागि उक्त कोष चालु आर्थिक वर्षदेखि सुरु गरेर आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो । कोषमा १ सय जनालाई आवद्ध गराउने लक्ष्य रहेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । चालु आर्थिक वर्षमा १३ लाख रुपैयाँ सामाजिक सुरक्षा कोषका लागि बजेट विनियोजन गरिएको थियो ।

विदेशबाट फर्केर आएका युवाहरुका लागि उपाध्यक्ष उद्यमी कार्यक्रम ल्याएको छ । विदेशबाट आएकाहरुलाई यस कार्यक्रमले देशभित्र उद्यमी बन्न प्रेरित गर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ । यस कार्यक्रमका लागि २५ लाख रुपैयाँ हाराहारीमा बजेट विनियोजन भएको छ ।

यस्तै, मकवानपुरगढी गाउँपालिकाको बजेट आगामी सोमबार बस्ने गाउँसभाबाट पारित गर्ने तयारी भएको छ । गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीका अनुसार गत असार १० गते प्रस्तुुत बजेट सोमबारको गाउँसभाबाट पारित गर्ने तयारी भएको छ । बुधबारसम्म विषयगत समितिहरुले समितिको तर्फबाट प्रस्ताव प्रस्तुत गरी छलफल गरिने र उक्त प्रस्तावहरु २७ गते कार्यपालिका बैठक बसेर गाउँसभाका लागि सिफारिस गर्ने उपाध्यक्ष पाख्रिनले बताउनुभयो । असार १० गते आगामी आर्थिक वर्षका लागि पालिकाले ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

यसैगरी, बजेट ल्याउन बाँकी बागमती गाउँपालिकाले आगामी असार ३० गते गाउँसभा आह्वान गरेको छ । नीति तथा कार्यक्रममात्र ल्याएको बागमतीले आगामी आर्थिक वर्षका लागि बजेट भने ल्याउन सकेको छैन । पालिकाका उपाध्यक्ष, केही वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरुले गाउँपालिकाका अध्यक्षले मनोमानी ढङ्गले बजेट ल्याउन खोजेको भन्दै गाउँसभा नै बहिस्कार गरेको थियो । रुष्ट वडाध्यक्षहरुले बजेट सिलिङ गर्न माग गर्दै आइरहेका छन् भने गाउँपालिकाका अध्यक्ष सर्केश घलानले टुक्रे आयोजना नभई देखिने आयोजनामा बजेट विनियोजन गर्ने बताउँदै आइरहनुभएको छ ।

असार ३० गतेको गाउँसभामा आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, नगर प्रहरी व्यवस्थापन, कर्मचारी व्यवस्थापन र विविध विषयहरुमा प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले जानकारी दिनुभयो । यसअघि मकवानपुरका अन्य स्थानीय तहहरुले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट पारित भइसकेको छ ।