हेटौँडाः बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नयाँ सत्ता समीकरण अनुसार सरकार गठन गर्नेगरी एमालेका मन्त्रीहरुले राजिनामा दिएका हुन् । सोमबार बिहान एमालेका ५ मन्त्रीले सामुहिकरुपमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएका हुन् ।
जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एका लाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले राजिनामा दिएका हुन् । एमालेका मन्त्रीको राजिनामासँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।
यता बागमती प्रदेश सरकार संघीय सरकारको बाटोमा देखिएको छ । पछिल्लो समय विकास भएको राजनीतिक घटनाक्रम अनुसार संघीय सरकारमा नयाँ सत्ता समिकरण बनेसँगै केन्द्रकै लयमा बागमती प्रदेश सरकार अघि बढेको हो । सत्ता समीकरणबाट सरकार गठनका लागि एमाले काँग्रेसले कसरत सुरु गरेपनि उपलब्धीमुलक हुन सकेको छैन । संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेपनि प्रधानमन्त्री दाहालले राजिनामा दिनुभएको छैन । केन्द्रमा एमाले काँग्रेस गठबन्धनबाट सरकार गठनको बाटो खुल्ला गर्न आग्रह गरेपनि प्रधानमन्त्री दाहालले सहज रुपमा मार्ग प्रशस्त गर्ने देखिँदैन । सोही अनुसार प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।
सामान्य बहुमत प्राप्त माओवादी केन्द्र नेतृत्वको एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी गठबन्धनको बागमती प्रदेश सरकार अल्पमतमा रहेको हो । सरकारबाट एमालेले समर्थन फिर्ता लिँदै सामुहिक रुपमा ५ मन्त्रीको राजिनामा गराएसँगै सरकार अल्पमतमा देखिएको हो । एमालेको राजिनामा पछि ५६ सांसदको बहुमत प्राप्त जम्कट्टेल नेतृत्वको प्रदेश सरकारको समर्थनमा प्रदेश सभाका २९ जना सदस्यमा सीमित भएको छ । सरकार अल्पमतमा परेसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रधानमन्त्री प्रचण्डकै लयमा अघि बढ्ने तयारीमा हुनुहुन्छ । केन्द्रमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुने भएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि सोही अनुसार अघि बढ्ने योजना बनाउनुभएको छ ।
त्यसो त मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिने सोँचमा हुनुहुन्थेन । आइतबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णय अनुसार मुख्यमन्त्री विश्वासको मत लिन तयार हुनुभएको हो । एमाले–काँग्रेस गठबन्धन अनुसार प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति बनेको र प्रदेश सभाको सबैभन्दा ठूलो दल भएकाले सहजै सरकार गठनको मार्ग प्रशस्त गर्ने रणनीतिमा मुख्यमन्त्री जम्कट्टेल हुनुहुन्थ्यो । तर, संसदीय दलको बैठकले विश्वासको मत फेस गर्न सूझाव दिएअनुसार मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत सामना गर्न तयार हुनुभएको हो ।
२०७९ पुस २५ गते प्रदेश सरकारको नेतृत्व सम्हाल्नु भएका मुख्यमन्त्री जम्कट्टेलले ३ पटक प्रदेश सभामा विश्वासको मत लिएर सरकार टिकाउनुभएको थियो । उहाँले एमाले, राप्रपा माओवादी केन्द्रको गठबन्धनबाट २०७९ माघ ३ मा विश्वासको मत लिनुभएको थियो । सो समयमा १०५ सदस्यको समर्थन पाउनुभएका जम्कट्टेल नेतृत्वको सरकार फागुन १० मा अल्पमतमा परेको थियो । त्यसपश्चात काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट चैत १० मा विश्वासको मत लिनुभएका उहाँले ६७ सांसदको समर्थन पाउनुभयो । १ बर्ष संचालन भएको उक्त समीकरण २०८० फागुन २१ मा ढले पश्चात एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा चैत १९ मा विश्वासको मत लिनुभयो । सो समय उहाँले सरकार गठन र टिकाउन आवश्यक सामान्य बहुमत ५६ सांसदको समर्थन पाउनुभयो । ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् ।
छिट्टै विश्वासको मत लिन्छुः मुख्यमन्त्री जम्कट्टेल
मुख्यमन्त्री जम्कट्टेलले छिट्टै नै प्रदेश सभा बैठक आह्वान गर्ने र विश्वासको मत लिने बताउनुभएको छ । सरकार अल्पमतमा रहेको र आफूमा संसदको विश्वासको मत रहेको प्रमाणित गर्न प्रक्रियागत रुपमा अघि बढ्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।
सत्ता साझेदार दलहरुसँगको छलफल पछि विश्वासको मत लिने मिति तय गर्ने उहाँको भनाई छ । उहाँका अनुसार संसदको अंक गणितमा सरकार अल्पमतमा रहेकाले बहुमत सिद्ध गर्ने उद्देश्यले संवैधानिक अधिकारको प्रयोग गर्ने तयारी छ । संविधान अनुसार एक महिना भित्र विश्वासको मत लिने व्यवस्था रहेकाले छिट्टै नै मिति तय गर्ने उहाँले बताउनुभयो । संविधानको व्यवस्थालाई सुविधाको रुपमा भन्दा पनि प्रक्रियागत रुपमा अघि बढाएर अघि बढ्ने उहाँको भनाई छ ।
सहमतीय सरकार निर्माणमा निर्णय गर्न एमालेको आग्रह
सरकारबाट बहिरिने क्रममा एमालेले माओवादी केन्द्रलाई सहमतीय सरकार निर्माणमा सहभागी हुन आग्रह गरेको छ । केन्द्रमा राष्ट्रिय सहमतिको सरकार निर्माणको तयारी रहेकोले प्रदेशमा पनि सहमतीय सरकार गठन गरेर अघि बढ्न सक्ने गरी निर्णय गर्ने एमालेले माओवादी केन्द्रलाई आग्रह गरेको छ ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई भेटेर सहमतीय सरकार गठनमा उपयुक्त निर्णय गर्न आग्रह गर्नुभएको हो । राज्य व्यवस्था र राजनीतिक स्थायित्वका लागि सहमतीय सरकार निर्माण गर्नु आवश्यक रहेको भन्नुहुँदै थपलियाले सहमतीय सरकारमा सहभागी हुनेगरी उपयुक्त निर्णय गर्न मुख्यमन्त्री जम्कट्टेललाई आग्रह समेत गर्नुभएको छ । उहाँले मुख्यमन्त्री जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको र सरकारबाट बाहिरिएको जानकारी गराउनुहुँदै एमाले–काँग्रेस गठबन्धनको सरकार निर्माणमा सहज वातावरण निर्माण गरिदिन आग्रह गर्नुभएको छ ।