हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा कैलाश एफसी प्रवेश गरेको छ । सोमबार मनहरी–८ स्थित सिमपानी मैदानमा भएको खेलमा हेटौँडा फुटबल एकेडेमीलाई ३–० गोलअन्तरले हराउँदै कैलाश क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
कैलाशको जितमा सुनिल थिङले २ गोल गरे । कैलाशका सुजन गुरुङले १ गोल गरे । म्यान अफ द म्याच सुजन गुरुङ घोषित भएका छन् । आज मंगलबारको खेलमा इन्टरनेट सिटी र भोर्लाघारी टोल विकास संस्थाबीच हुनेछ । गाउँपालिकाको पूर्वफुटबल खेलाडी मिलन–धर्मराजको स्मृतिमा यस वर्षबाट प्रतियोगिताको आयोजना गरेको खेल संयोजक प्रकाश थिङले बताउनुभएको छ । स्कुटर दुर्घटनामा निधन भएका धर्मराजको स्मृतिमा प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको खेल संयोजक थिङले बताउनुभयो ।
विभिन्न स्थानका खेलाडीहरुबीच भातृत्व कायम गराउन, राष्ट्रिय खेलाडी उत्पादन गर्न र फुटबल खेलको महत्वबारे बुझाउन प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ । सिमपानी युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको खेल संयोजक थिङले जानकारी दिनुभएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुले पनि नगद र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असार ३१ गते हुनेछ ।