हेटौंडाः बालकुमारी क्योकुशिन कराँते संघ मकवानपुरको अध्यक्षमा पुनः बुद्धिनाथ न्यौपाने चयन हुनुभएको छ । शनिबार मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवनमा भएको दोस्रो साधारणसभाबाट न्यौपाने सर्वसम्मत दोस्रो कार्याकालयका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
न्यौपानको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । संघका उपाध्यक्षमा अशोककुमार डिम्डुङ, सचिवमा रामशरण धिताल र कोषाध्यक्षमा सुसन श्रेष्ठ चयन हुनुभएको छ । यस्तै, सदस्यमा सुमन कर्माचार्य, सीता श्रेष्ठ, सुजाता भुजेल, जीतबहादुर अधिकारी र सञ्जीव सुनार चयन हुनभएको छ । कार्यक्रममा मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएर उत्कृष्ट प्रदर्शनी गरेर जिल्लालाई चिनाउन सफल हुने खेलाडीहरुलाई सम्मानपत्र प्रदान गरिएको छ ।
क्योकुशिन कराँते संघमा रहँदासम्म खेलकुदको मूल्य मान्यतालाई जोगाउनका लागि निस्वार्थ भावनाले पदीय जिम्मेवारी निर्वाह गराउनका लागि निर्वाचन कमिटीका संयोजक माधव कोइरालाले सपथग्रहण गराउनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ४ वर्षको हुनेछ । हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडाका वडाध्यक्ष अनिलकुमार बानियाँको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष न्यौपानेको सभाध्यक्षतामा साधारणसभाको उद्घाटन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष बानियाँले क्योकुशिन कराँतेको विकास गर्नका लागि प्रदेशस्तरीय प्रतियोगिताका लागि पहल गर्ने बताउनुभयो । प्रतियोगितामा जे जस्तो नतिजा प्राप्त भए पनि खेललाई निरन्तरता दिन आवश्यक रहेको उहाँले बताउनुभयो । मकवानपुरमा क्योकुशिन कराँतेले फड्को मारिरहेकाले यसको विकास गर्ने कार्यमा सबै खेलाडी र प्रशिक्षक लाग्नुपर्ने प्रष्ट पार्नुभयो ।
उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, क्योकुशिन कराँतेका केन्द्रीय सदस्य सुदर्शन अधिकारी, खेलकुद विकास समितिका पूर्वध्यक्ष सानु लामा दोङलगायत विभिन्न खेल क्षेत्रमा आवद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।