हेटौँडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिकाका ४ वटा विद्यालयबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना पनि विद्यार्थी उत्तीर्ण नभएको पाइएको छ । यसअघि गाउँपालिकाका ११ वटा विद्यालयमध्ये २ वटा विद्यालयबाट मात्रै एकजना पनि विद्यार्थी उत्तीर्ण नभएको भन्ने विवरण सार्वजनिक भएकोमा बकैया गाउँपालिकाले गत बुधबार ४ वटा विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण नभएको विवरण सार्वजनिक गरेको छ ।
बकैया गाउँपालिका–२ स्थित कालिका मावि, बकैया–५ स्थित प्रभात मावि, बकैया–८ स्थित जनजागृति मावि र बकैया–१० स्थित प्रसिद्ध माविबाट एकजना पनि विद्यार्थी कक्षा–११ पढ्न योग्य हुन नसकेको पालिकाले जनाएको छ । कालिका माविबाट १६ जना, प्रभात माविबाट २५ जना, जनजागृति माविबाट २६ जना र प्रसिद्ध माविबाट १३ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । यसअघि सार्वजनिक भएको विवरणमा कालिका माविबाट १७ मध्ये १ जना र प्रभात माविबाट २५ मध्ये ५ जना उत्तीर्ण भएको उल्लेख गरिएको थियो ।
बकैया गाउँपालिकाको शिक्षा शाखाका प्रमुख आइतराम तामाङका अनुसार कालिका माविमा गत बर्ष असफल भएका एक विद्यार्थी यस पटक उत्तीर्ण भए पनि नियमितर्फ भने एकजना पनि विद्यार्थी उत्तीर्ण नभएको स्पष्ट पार्नुभयो । कालिका माविका प्रधानाध्यापकले कुल १७ जना मध्ये १६ जना नियमिततर्फ र १ जना पूरक परीक्षार्थी रहेको र पूरकतर्फका परीक्षार्थी मात्रै उत्तीर्ण भएको जानकारी गराए पनि विवरण तयार पार्नेले नबुझ्दा एकजना उत्तीर्ण भएको भन्ने भएको उल्लेख गर्नुहुँदै शिक्षा शाखा प्रमुख तामाङले भन्नुभयो, “प्रभात माविका प्रधानाध्यापकले भने जानाजान गलत विवरण दिएको देखियो ।पालिकाले आफैँले नतीजा नहेरी विद्यालयलाई विवरण उपलब्ध गराउन भन्दा गल्ती भएको हो ।”
बकैया गाउँपालिकाका ११ वटा विद्यालयबाट ४ सय ३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ४६ जना (११.४१ प्रतिशत) विद्यार्थी मात्रै कक्षा ११ भर्ना हुन योग्य रहेको नतीजा सार्वजनिक भएको थियो । यसअघि मकवानपुर जिल्लाका १६ वटा विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण नभएको भनी विवरण सार्वजनिक भएको थियो । बकैया गाउँपालिकामा ४ वटा विद्यालय निल गएको विवरण सार्वजनिक भएसँगै मकवानपुर जिल्लाबाट एसईईमा निल जाने विद्यालयको संख्या १८ पुगेको छ ।